कालु सिंह मोमोरियल च्याम्पियनसिप : उत्कृष्ट पुनरागमन गर्दै युबिएससीले जित्यो उपाधि
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ आठौं कालु सिंह मोमोरियल च्याम्पियनसिप २०२४ को उपाधि मिनिसोटा र न्युयोर्कका खेलाडी सम्मिलित युनाइटेड बदर्स स्पोर्टिङ क्लब (युबिएससी) ले जितेको छ।
अमेरिकाको पेन्सलभेनिया राज्यको ह्यारिसवर्गस्थित स्काइलाइन स्पोर्ट्स कम्प्लेक्सको मैदानमा आइतबार भएको फाइनल भिडन्तमा युबिएससीले पेन्सलभेनियाको पिटर्सवर्ग डाइनामोलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
खेलमा अग्रता भने पिटर्सवर्गले लियो। पहिलो हाफमा पिटर्सवर्गका विकास राईले गोल गरेका थिए।
दोस्रो हाफमा युबिएससीले दुई गोल फर्कायो। उसका लागि सुरज गुरुङले बराबरी गोल गर्दा किरण थापाले पेनाल्टीबाट निर्णायक गोल गरे। किरणलाई विपक्षी खेलाडीले डि बक्स भित्र लडाए पछि रेफ्रिले पेनाल्टीको निर्णय सुनाएका थिए। खेल एक एक गोलको बराबरीमा रहेको बेला पेनाल्टीको सदुपयोग किरण आफैले गरेका थिए।
उपाधिसँगै युबिएससीले ५ हजार डलर उपाधि जित्दा उपविजेता पिटर्सवर्गले ३ हजार पायो।
व्यक्तिगततर्फको ट्रफीमा पनि युबिएससीकै खेलाडीको बर्चश्व रह्यो। उसका काजी तामाङ उत्कृष्ट गोलकिपर हुँदा सुरज गुरुङ उच्च गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भए।
त्यसअघि आइतबार नै भएको सेमिफाइनलमा युबिएससीले एफसी रिभाइवललाई २-० गोल र पिटर्सवर्गले ह्यारिसवर्ग भेट्रान्सलाई सडनडेथमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। निर्धारित समय एक एक गोल बराबरीमा टुङ्गिए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा पनि निर्णय हुन नसक्दा खेल सडनडेथमा पुगेको थियो। दुबै टिमले १२-१२ पटक पेनाल्टी प्रहार गरेका थिए।
आइतवार बिहान भएको क्वार्टरफाइनलमा युबिएससीले बेल्जियम भेट्रान्सलाई ५-० गोल र ह्यारिसबर्गले कोलम्बस भेन्ट्रान्सलाई १-० गोलले हराएका थिए। रिभाइवल र पिटर्सवर्ग भने बाइ पाएर सिधा सेमिफाइनलमा पुगेका थिए।
एसियन रेफ्युजी युनाइटेड (एआरयु) द्वारा आयोजित प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य र बेल्जियमबाट गरि नौ टिमले भाग लिएका थिए।
भुटानी पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गिय कालु सिंह तामाङको स्मृतिमा च्याम्पियनसिप आयोजना गरिएको हो। यस अगाडि सात संस्करण सम्म कालु सिंहका साथीभाई र परिवारहरुले ब्यक्तिगत रुपमा च्याम्पियनसिप आयोजना गर्दै आएको भए पनि यस पटक देखि एआरयु संस्थागत रुपमा आयोजक भएको हो।
यस पटकको च्याम्पियनसिपका लागि रत्न गुरुङको अध्यक्षतामा आयोजक समिति गठन गरिएको थियो।
च्याम्पियनसिपको फाइनल खेल हेर्न तथा पुरस्कार वितरण समारोहमा कालु सिंहका ९० बर्षिय पिता सेतु तामाङ सहित परिवारका अन्य सदस्यको पनि उपस्थिति रहेको थियो।
आयोजक कमिटीका उपाध्यक्ष अमल थुलुङले सेतु तामाङलाई मायाको चिनो प्रदान गरेका थिए। यसै गरि डिस्का अध्यक्ष डा. हेमन्त घिसिङले फाइनल खेल उत्कृष्ट घोषित खेलाडीहरुलाई अवार्ड प्रदान गरेका थिए।
समाजसेवी विश्व क्षेत्रीले उपविजेता टिम पिट्सबर्गका खेलाडीलाई मेडल प्रदान गरेका थिए। डा. खेम अधिकारीले विजेता टिम युबीएससीका खेलाडीलाई मेडल प्रदान गरेका थिए।
आयोजक कमिटीका सदस्य विनय लुइटेलले रनरअफ ट्रफी प्रदान गरेका थिए। विजयी ट्रफि कालु सिंहका भाइबुहारीबाट प्रदान गरिएको थियो।
रनरअप चेक कमिटी सदस्य केबी गुरुङले प्रदान गरेका थिए भने विजेता चेक डिस्काका मुख्य प्रशिक्षक रन राइले प्रदान गरेका थिए।
पुरस्कार वितरण कार्यक्रममा आयोजक कमिटीका अध्यक्ष रत्न गुरुङले च्याम्पियनसिप सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
र यो पनि…
च्याम्पियनसिपका थप तस्विर
फाइनल खेल अगाडि एआरयुको महत्वकांक्षी परियोजना सकर फर सक्सेसका खेलाडीको प्रदर्शनी खेल राखिएको थियो। एआरयुका कार्यकारी निर्देशक रोबिन गुरुङका अनुसार समुदायका बालबालिकालाई फुटबल सिकाउने दिर्धकालिन परियोजनालाई सकर फर सक्सेस भनिएको छ।
कालु सिंह च्याम्पियनसिपबाट बचत रकम सकर फर सक्सेस परियोजनामा खर्च गरिने छ।