अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित
पेन्सिल्भेनिया । अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ । जारी टी- २० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ । यो टी- २० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरको पहिलो पटक हो ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए । त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए । अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए । त्यस्तै मोहमद नावी र राशिद खानले एक एक विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्बाधिक ६० रन बनाएका थिए भने इब्राहिम जद्रानले ५१ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए ।
त्यस्तै अस्ट्रेलियाका लागि कप्तान पाट कमिंसले ह्याट्रिक लिएका थिए । उनको यस विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक हो । त्यस्तै एडम जाम्पाले २ विकेट लिएका थिए ।
यो जितपछि अफगानिस्तानले सुपर आठको समुह एकमा २ महत्वपूर्ण अंक हासिल गरेको छ । त्यस्तै अस्ट्रेलियाको २ खेलमा २ अंक रहेको छ । अब अस्ट्रेलियाले अर्को खेल सोमबार राती भारतसँग खेल्ने छ भने अफगानिस्तानले मंगलबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।
पाट कमिन्सको कीर्तिमानी बलिङ, लगातार दोस्रो खेलमा ह्याट्रिक
अस्ट्रेलियाका बलर प्याट कमिन्सले अफगानिस्तानविरुद्ध कीर्तिमानी बलिङ गरेका छन् ।
जारी टी-२० विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक लिदै कमिन्सले नयाँ किर्तिमान बनाएका हुन् । अफगानिस्तानअघि कमिन्सले बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक लिएका थिए । योसँगै कमिन्सले टी–२० विश्वकपमा दुई ह्याट्रिक लिने विश्वकै पहिलो बलर बनेका छन् ।
अफगानिस्तानको इनिङ्सको १८औं ओभरको अन्तिम बलमा कमिन्सले राशिद खानलाई आउट गरेका थिए । यसपछि २०औं ओभरको पहिलो दुई बलमा करिम जनात र गुलबदिन नाइब आउट गरेका थिए ।
यसअघि बंगलादेशविरुद्धको खेलमा कमिन्सले इनिङ्सको १८औं ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरेका थिए भने २०औं ओभरको पहिलो बलमा तौहिद हृदयोयलाई आउट गरेका थिए ।
कमिन्स टी-२० अन्तर्राष्ट्रियमा दुई ह्याट्रिक गर्ने पाँचौं बलर बनेका छन्। उनीअघि श्रीलंकाका पूर्व बलर लसिथ मालिंगा, न्यूजिल्याण्डका टिम साउथी, सर्बियाका मार्क पाभलोभिक र माल्टाका वासिम अब्बासले यस्तो गरेका थिए । यद्यपिले कमिन्सले लगातार दुई टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने विश्वका पहिलो बलर बनेका छन् ।
त्यसैगरी टी–२० विश्वकपको इतिहासमा यो आठौं ह्याट्रिक हो । कमिन्सले यीमध्ये दुई पटक ह्याट्रिक लिएका छन् । योसँगै अस्ट्रेलियाका बलरले तेस्रो पटक टी–२० विश्वकपमा ह्याट्रिक लिएका छन् । कमिन्स बाहेक ब्रेट लीले सन् २००७ मा यो काम गरेका थिए । कमिन्स टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने अष्ट्रेलियाका चौथो बलर बनेका छन् ।