अमेरिकाको राजदूतमा साहित्यकार चन्द्र घिमिरे सिफारिस
काठमाडौं । सरकारले ८ जना राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले अमेरिका र भारतसहित विभिन्न आठ राजदूत सिफारिस गरेको हो । यसअघि कार्यकाल पूरा नहुँदै वर्तमान गठबन्धन सरकारले ११ जना राजदूत फिर्ता गरेको थियो । फिर्ता भएका राजदूतहरु स्वदेश फिर्ता हुने क्रममै रहेका बेला सरकारले ८ जना राजदूत भने सिफारिस गरेको छ ।
सिफारिस गरिएका राजदूतमा अमेरिकाका लागि पूर्व सचिव चन्द्र घिमिरे रहेका छन् । नेपाल सरकारको सचिव भइसकेका उनी राम्रो साहित्यकारका रुपमा पनि परिचित छन् । यसैगरी सरकारले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत सिफारिस गरेको छ ।
अमेरिकामा यसअघि श्रीधर खत्री राजदूत थिए ।
उनी यसअघि बेलायतको राजदूत पनि भएका थिए । मुख्यसचिव भएका बेला शंकरदास बैरागीलाई उक्त पद छाडेर रेग्मी बेलायतको राजदूत भएका थिए । सत्ता गठबन्धन फेरबदल हुँदा फिर्ता भएका रेग्मीलाई पुनः कुटनीतिक महत्वको भारतमा राजदूत बनाउन लागिएको हो ।
सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार एमालेले ८ राजदूता पाउँदा रास्वपाले २ र माओवादीले १ राजदूत पद लिएको छ । अन्य नामावली भने सार्वजनिक भएको छैन । अब राजदूतहरुको संसदीय सुनुवाई पछि नियुक्ति हुने छ ।
को हुन अमेरिकाका लागि सिफारिस भएका राजदूत चन्द्र घिमिरे ?
चन्द्र घिमिरे ( जन्म वि.सं.२०२१ मङ्सिर १५ गते तदनुसार ई.सं. ३० नोभेम्बर १९६४ धरान, सुनसरी जिल्ला, नेपालमा भएको थियो । उनी नेपाली कवि, निबन्धकार तथा बौद्धीक व्यक्तित्व, नेपाल सरकारका वरिष्ठ प्रशासक हुन् । राजनीतिक, सामाजिक वा प्राकृतिक उथलपुथलमा आधारित रहेर कविता बुन्न सक्ने क्षमता भएका कवि चन्द्रका विशेष खुबी भनेकै नेपाली आममानिसले अनेकपटक भोगेका दर्दनाक घट्नाक्रमहरूमा आधारित रही सुन्दर र सुकुमार ढङ्गले कविता प्रस्तुत गर्नु । तराईको, पहाडको, घासिया, हलिया, कमैयाको भाषामा उनका कविता फरर बोल्छन् र इतिहास, धर्म सत्ता र शक्तिले थिचिएका, वर्जना र वञ्चनामा परेका मानिसहरुका त्रासदीका कथा भन्छन् ।
भुईमा बस्नेहरु बांयाबाट क्रमशः रमेश के.सी. (संस्थापक सदस्य “अर्को जमात”) सबिता श्रेष्ठ बेहोसी ; कुर्सीमा बस्नेहरुः देवलाल श्रेष्ठ, राजकुमार कार्की, गिरिराज आचार्य, बेणु आचार्य, प्रा.डा.भण्डारी ; पछाडी लाईनमा उभिनेहरुः गोपाल देवान, स्व. टंक घिमिरे (संस्थापक सदस्य “अर्को जमात”), हर्ष सुव्बा, नविन सुव्वा (चलचित्र निर्देशक र संस्थापक सदस्य “अर्को जमात”), भिष्म काफ्ले र चन्द्र घिमिरे (कवि र संस्थापक सदस्य “अर्को जमात”)
धरानमा बाल्यकाल बिताएका घिमिरे प्रारम्भिक शिक्षा त्यसबेला भारतीय सेनामा कार्यरत पिताजीबाटै प्रारम्भ गरे । अनौपचारीक शिक्षा लिँदै गरेका थिए । बङ्गलादेश स्वतन्त्रता सँग्राम चर्किएको बेला सुरक्षित ठाउँमा सर्ने क्रममा सन् १९७१ फेब्रुअरीमा अभिभावकले पूर्वी नेपालमा पर्ने धरान नगरमा ल्याए । सोही साल धरानको ल्याबोरेटोरी स्कूलबाट एकैपल्ट कक्षा २बाट प्राथमिक तहको शिक्षा सुरु भयो । सन् १९७३ देखि धरानको नेपालकै जेठो विद्यालयमा पर्ने पब्लिक हाइस्कूलमा कक्षा ४ देखि १० सम्म अध्ययन गरे । उक्त विद्यालयका साहित्यकार गुरुहरु चन्द्रमणि अधिकारी र कवयित्री कुन्ता शर्माको प्रभावमा घिमिरे आए । कलेज पढ्न धरानको जेठो महेन्द्र बहुमुखी क्याम्पसमा प्रवेश गरेपछि लेखक साथीहरूको सँगतमा परे । त्यो बेलाको एकदलीय पन्चायत व्यवस्थाको समय थियो । लेखनमा उनी विद्रोही धारतर्फ लागे । त्यही बेला सन् १९८७ तिर धरान नेपालमा केही युवाहरूले साहित्यिक समूह ‘अर्को जमात’ खोले । यो स्थापना गर्ने मुख्य चार युवा कवि लेखकहरूमा चन्द्र घिमिरे पनि एक थिए । अन्य संस्थापकमा एउटै उमेरका कवि लेखकहरु रमेश के.सी., नविन सुब्बा र टंक घिमिरे लगायत अरु पनि थिए । त्यो साहित्यिक सँस्था ‘अर्को जमात’ ले धरान बजारमा विद्रोही खालका कविताहरु सहितको पर्चा छर्न ‘मार्गण’ नामक काव्य पर्चा सुरु गरे । सन् १९८९ मा उच्च अध्ययन गर्ने उद्देश्यले काठमाण्डौ प्रवेश गरे ।
घिमिरेले विद्यालय शिक्षा धरानको पव्किल हाइस्कूलबाट सके । त्यसपछि कमर्स विषय लिएर धरानकै महेन्द्र बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह अध्ययन सन् १९८६ मा पूरा गरे । सन् १९८९ मा काठमाण्डौको शंकरदेव क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातक तह सिध्याए । सन् १९९६ मा काठमाण्डौको शंकरदेव क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाटै व्यवस्थापनशास्त्रमा एम.बि.ए. सम्पन्न गरे । सोही बिच घिमिरेले प्राइभेट विद्यार्थीका रूपमा सन् १९९६ मा कानुनमा स्नातक पढाई पूरा गरे । सन् २००२ मा त्रिभुवन विश्वविद्यालयबाट स्वर्णपदक सहित एम.पि.ए.उत्तिर्ण गरे । तत्पश्चात उच्च अध्ययन गर्न २००६ अगस्टदेखि नर्वेको बर्गेन विश्वविद्यालयमा गए । त्यहाँबाट उनले एम.फिल.अध्ययन पुरा गरे । सो अध्ययनका दौरान उनले नर्वेका ख्यातिप्राप्त प्राज्ञिक व्यक्तित्व प्रोफेसर पिएर लाग्रिडसँग रिसर्च थेसिस गर्ने मौका पाए ।
घिमिरेले बेलायतको प्रतिष्ठित चेभेनिँग फेलोसिप पाएर बेलायतको योर्क विश्वविद्यालयमा सन् २००६ मा केही महिना बिताए । त्यसैगरी, हवार्ड विश्वविद्यालयको केनेडी स्कूल अफ गर्भनेन्समा सन् २०१० मा अमेरिकी अन्तर्राष्ट्रिय व्यापारविद प्रोफेसर रबर्ट लरेन्सबाट छोटो समय प्रशिक्षित हुने मौका पाए ।
सन् १९८९ देखि घिमिरे अनवरत काठमाण्डौमा रहे । सन् १९८९ मा उनले नेपालको निजामती सेवामा शाखा अधिकृतको रूपमा प्रवेश गरे । सन् १९९६ मा उपसचिव पदमा बढुवा भए भने सन् २००५ मा सहसचिव पदमा बढुवा भए । सन् २००६ मा नर्वेको बर्गेन सहरमा अध्ययनका लागि गए । नर्वेबाट सन् २००८ मा नेपाल फिरेपछि अनवरत नेपालको निजामति सेवाको सहसचिव पदमा रहेर सेवा गरे । सन् २०१२ जनवरीमा नेपाल सरकारले उनलाई नेपालको लागि भारतको कोलकातास्थित महावाणिज्यदूत पदमा नियुक्त पनि भएका थिए ।
घिमिरे नेपाली कवितामा एक पृथक शैलीका कवि हुन् । बिम्बमा लेख्न रुचाउने यीनी औसत सामाजिक कविता लेख्न रुचाउँछन् । तथापी यीनले प्रेम, नैराश्य, दुःख जस्ता अनूभूतीजन्य कविता पनि लेखेको छन् । पछिल्ला समयमा यीनले पिछडिएका, सिमान्तकृत र सबाल्टर्नहरुका पक्षमा लेखिएका कविता र राजनीति तथा समाजमा देखिने विकृतीमाथि प्रहार गरेर अधिकतर कविताहरु लेखेका छन् । कहिले गाउँ, कहिले सरह छिर्ने, कहिले पहाड चढ्ने, कहिले तराई झर्ने कवि चन्द्र घिमिरे कवितामा भुइँमान्छेहरूसँग सम्वाद गर्न मन पराउँछन् ।
कविताका अतिरिक्त लेख निबन्ध पनि लेख्दै आएका छन् । निबन्धतर्पm अनूभूतिलाई पोखेर लेख्नु यीनको विशेषता मानिन्छ ।
साहित्य देखि बाहेका घिमिरे सुशासन, विकास विमर्शमा पनि तिखो कलम चलाउँछन् । नेपाली ब्यूरोक्रेसीमा रहेर ब्यूरोक्रेसीका विसँगतीमाथि लेखिएका कैयौँ लेखहरु कान्तिपुर दैनिक तथा अन्यत्र प्रकाशित छन् ।
सन् १९९२ पश्चात लेखनबाट टाढा बसेका कवि घिमिरे करीब अढाई दशक पछि फेरि कविता लेखनमा देखा परे । लामो समयान्तरमा फेरि कवितामा आएका घिमिरेले तत्कालै चर्चा बटुले । पुस्ताकार रूपमा घिमिरेको प्रकाशित पहिलो कृति सन् २०१२ सेप्टेम्बरमा प्रकाशित ‘डन्ट टच मी ओ कविताहरु’ हो । नेपाली भाषामा लेखिएका कविता सँग्रहका रूपमा आएको उनको यो पुस्तक फाईन प्रिन्ट्स, नेपालबाट प्रकाशित थियो । नेपाली भाषामै लेखिएका कविताहरूको सँग्रहको रूपमा दोश्रो पुस्तक ‘काठको बाकस’ नेपालको साँग्रिला बुक्सले २०१५ मा बजारमा ल्याएको छ । यसका अलावा फुटकर रूपमा उनका अनेकौँ निबन्धहरु प्रकाशित छन् ।
यीनको एकल कविता वाचन पहिलो सन् २०१२ अक्टोबर ३ मा धरानमा र दोश्रो सन् २०१३ अक्टोबर २६ मा हेटौडामा भएको थियो । तेश्रो एकल वाचन शिल्पी थियेटरले काठमाण्डौमा सन् २०१३ डिसेम्बर २८ मा आयोजना गरेको थियो ।
साहित्यका अलावा घिमिरेले सार्वजनिक प्रशासन, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा काम गरेकाले उनका अनेकौँ लेखहरु प्रकाशित छन् । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पनि यीनले पेपरहरु प्रस्तुत गरेका छन् । साथै, कैयन नेपाल र बाह्य फोरमहरूमा वक्ताका रूपमा बोलेका छन् । – विकिपिडियाबाट