भक्तपुर नलिञ्चोकको हेलिपोर्ट सञ्चालनमा
काठमाडौं । भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्ट सञ्चालनमा आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार शुक्रबारदेखि १२ वटा हेलिकोप्टरलाई भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा सारिएको हो ।
शुक्रबार बिहान नौ वटा वायुसेवा कम्पनीका हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर नलिन्चोक अवतरण भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिए ।
३३ रोपनी क्षेत्रफलमा फैलिएको हेलिपोर्ट एक वर्षअघि नै निर्माण सम्पन्न भएको थियो ।
उक्त हेलिपोर्टमा १३ वटा हेलिकोप्टर पार्किङ्ग क्षमता रहेको प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले बताए ।
३३ रोपनी जग्गामध्ये २६ रोपनी हेलिकोप्टर पार्किङ्गका लागि छुट्याइएको छ । बाँकी ७ रोपनीमा हेलिकोप्टर कम्पनीहरुका लागि कार्यालय, भवन निर्माण भने अन्तिम चरणमा रहेको जनाइएको छ ।














