ह्यारिसबर्गमा मनाइयो उभौली सेवा,स्वतारा खोलामा बगाइयो गालिस्राप
ह्यारिसबर्ग/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा उभौली सेवा मनाइएको छ। किरात रिलिजन अर्गनाइजेशन अफ पेन्सिल्भेनियाको आयोजनामा शनिवार र आइतबार (जुन १५ र १६ तारिख) गरी दुई दिन सम्म उभौली सेवा मनाइएको हो।
अर्गनाइजेशनका अध्यक्ष रन खजुमले मौसमलाई मध्यनजर राखेर केही ढिला गरी उभौली सेवा मनाइएको जानकारी दिए।
उभौली सेवाको पहिलो दिन हर्सिमा रहेको स्वतारा पार्क र स्वतरा खोला बिचको बगरमा सागमुरा वादेम गरिएको थियो।
माङसेवासाबा (पुजारी) हरुले विधिपूर्वक पूजा गरेका थिए। सोही क्रममा स्वतरा खोला (हर्सी) मा गालिस्राप बगाइएको थियो।
माङसेवासाबा गंगा राईका अनुसार जीवनमा जान अन्जान कोही सकैलाई गालीगलौज गरिएको रहेछ भने पनि त्यो बगेर जाओस्, मानव जीवनमा रिस राग नरहोस् भनेर गालिस्राप बगाउने गरिन्छ।
उभौली सेवाको दोस्रो दिन महाअष्ठयक्ष गरिएको थियो। लोअर प्याक्सटन कोही मेमोरियल पार्कमा आयोजित यक्षमा एक सय आठ दीप प्रज्वलन गरिएको थियो।
यसै गरी विधि पूर्व पूजा गर्नुका साथै होम पनि गरिएको थियो।
पूजा प्रसाद ग्रहण पछि किरात सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी प्रायशः आ आफ्नो मौलिक पोसाकमा सजिएका थिए।
औपचारिक कार्यक्रममा किरात रिलिजन अर्गनाइजेशन अफ पेन्सल्भेनिया अध्यक्ष रन खजुमले सहभागी सबैलाई धन्यवाद दिएका थिए। उनले आफ्नो धर्म र संस्कृतिको संरक्षणका लागि अर्गनाइजेशन क्रियाशील रहेको बताए।
किरात कम्युनिटी अर्गनाइजेशन अफ अमेरिकाकी सचिव मिरा राईले पनि उभौली सेवा भव्य रूपमा आयोजना गरेकोमा आयोजकको प्रशंसा गरेकी थिइन्।
विश्व मामिला परिषद्, ह्यारिसबर्गकी अध्यक्ष जोइस डेभिस कार्यक्रममा सफलताको शुभ कामना दिइन्।
यस्तै किरात रिलिजन अर्गनाइजेशन अफ पेन्सिल्भेनियाका सल्लाहकार एल बि नेम्बाङ, भुटानी कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का पूर्व अध्यक्ष टेक गुरुङ धर्म र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमहरू सहयोगी हुने धारणा राखे।
माङसेवासाबा (पुजारी) एल बि जगेबूले किरात धर्म र उभौली सेवाको बारेमा प्रस्टाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि भुटानी कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) अध्यक्ष तिलक निरौलाले समुदायको धर्म, भाषा र संस्कृतिको संरक्षणमा आफूहरूले सहकार्य गर्ने बचन दिए।
किरात कम्युनिटी अर्गनाइजेशन अफ अमेरिका बोर्ड सदस्य समेत रहेका हरि सुब्बाले सञ्चालन गरेको कार्यक्रममा बालबालिकाहरूले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए।
उभौली सेवा भिडियोमा