अन्तिम टी-२० मा बंगलादेशसँग नेपाल पराजित
पेन्सिल्भेनिया । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । समूह डीमा रहेको नेपाल समूह चरणको बंगलादेशसँग २१ रनले पराजित भएको हो । पहिला ब्याटिङ गरेको बंगलादेश १९.३ ओभरमा १०६ रनमा समेटिएको थियो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी हुँदा ८५ रनमा समेटिन पुग्यो । जितसँगै बंगलादेश सुपर ८ मा प्रवेश गरेको छ ।
लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २५ रनको पारि खेले । यी दुई खेलाडीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आशा कायमै राखेका थिए । कुशलले ४० बल खेल्दा एक छक्का र एक चौका प्रहार गर्दा दीपेन्द्रले ३१ बल फेस गर्दा एक छक्का र दुई चौका प्रहार गरे ।
पहिलो विकेटको रुपमा कुशल भुर्तेल ४ रन बनाएरु आउट भएका थिए । दोस्रो विकेटको रुपमा अनिल साह खाता नै नखोली पभेलियन फर्किए । रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाउँदा गुल्सन झा, सोमपाल कामी र अविनाश बोहोराले खाता नै खोल्न सकेनन् भने सन्दीपले एक बल पनि फेस गर्न पाएनन् ।
बंगलादेशका तनजिम हसन साकिवले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर ७ रन दिँदै नेपालका ४ खेलाडीलाई पभेलियनको बाटो देखाए । यसैगरी मुस्तफिजुर रहेमानले ४ ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिए । तसकिन अहमदले १ विकेट लिँदा साकिब अल हसनले अन्तिम २ विकेट हात पारे ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बंगलादेशलाई ब्याटिङका लागि निम्ता दिएका थिए । कप्तान पौडेलको निर्णयलाई नेपाली बलरले भने सही सावित गरे ।
पहिलो खेबलमा सोमपाल कामीले तनजिद हसनलाई पभेलियन पठाउँदै नेपाललाई उत्कृष्ट सुरुआत गराए ।
७ रन हुँदा नेपालले दोस्रो सफलता हात पारेको थियो । दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाएका थिए । बंगलादेशका कप्तान नजमुल होसेन सान्टो ४ रन बनाएर पभेलियन फर्किए ।
टिमको स्कोर २१ रन हुँदा तेस्रो विकेट गुमेको थियो । तेस्रो सफलता नेपालका सोमपालले दिलाए । उनले लिटन दासलाई १० रन बनाएका बेला विकेटकिपर आशिफ शेखमार्फत आउट गरेका हुन् ।
३० रन पुग्दा बंगलादेशले चौथो विकेट गुमाउन पुग्यो । उसका तोहिद हेरिडो ९ रनको पारि खेल्दा नेपाली कप्तान रोहित पौडेलले आउट गरे ।
५२ रन हुँदा नेपालले पाँचौं सफलता रनआउट मार्फत गरेको थियो । मोहमदुल्लाहलाई नेपालका गुल्सन झा र सन्दीप लामिछानेले रनआउट गरेका थिए । उनी १३ रन बनाएर आउट भए । एक छेउँमा टिकेका अलराउन्डर साकिव अल हसनलाई कप्तन रोहित पौडेलले एलबीडव्ल्यूको धरापमा पारे । साकिवले १७ रन बनाउँदा २ चौका प्रहार गरे । साकिव नै बंगलादेशका लागि आज सर्वाधिक रन बनाउने खेलाडी बने ।
६९ रन हुँदा नेपालले सातौं सफलता हात पारेको थियो । सातौं विकेटको रुपमा तन्जिम हसन ३ रनमै पभेलियन फर्किए । उनलाई सन्दीप लामिछानले बोल्ड आउट गरेका थिए । यो सन्दीपको टी–२० करियरको ९९ औं विकेट थियो । १५.३ ओभरमा ७५ रन हुँदा बंगलादेशले आठौं विकेट गुमाउन पुग्यो । नेपाललाई आठौं सफलता सन्दीपले दिलाउँदै टी–२० करियरको १०० औं विकेट पूरा गरे । सन्दीपले ५४ खेलमा १०० विकेट पूरा गर्दा जाकर अलिलाई आउट गरे । जाकरले १२ रन बनाएका थिए ।
८८ रन हुँदा रिसाद हुुसेन ७ बलमा १३ रन बनाएर आउट भए । उनले मात्रै नेपाली बलरविरुद्ध एक छक्का प्रहार गरे । अन्तिम विकेटको रुपमा मुस्तफिजुर रहमान १९.३ ओभरमा ३ रन बनाएर रन आउट भए । उनलाई रोहित र दीपेन्द्रले रन आउट गरेपछि बंगलादेशको पारि १०६ रनमा समेटियो ।
नेपालका सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३.३ ओभरमा २ विकेट लिँदा रोहित पौडेलले ४ ओभरमा २० रन दिएरु २ विकेट हात पारे । सन्दीपले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १७ रन खर्चिदै २ विकेट हात पारे । दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिएका कुशल भुर्तेले आजको स्पेलमा २२ रन खर्चिए पनि विकेटविहीन बने ।
अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।