भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त
काठमाडौं । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त भएका छन् । हालै भएको १८ औं लोकसभा निर्वाचनमा मोदी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनलाई नै दलको नेता चयन गरिएको थियो ।
एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दावी गरेका थिए । उनले शुक्रबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठनका लागि दावी पेश गरेपछि प्रधानमन्त्रीमा नियक्त गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अब नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने छन् । नरेन्द्र मोदीको सपथ आगामी जुन ९ मा (आइतवार) हुने भएको छ । यसअघि शुक्रबार पुरानो संसद भवनको सेन्ट्रल हलमा नरेन्द्र मोदीलाई एनडीएको नेता चयन गरिएको थियो ।
मोदीको गठवन्धनमा २९३ सिट रहेको छ । भाजपा एक्लैको २४० सिट छ । २०१४ र २०१९ मा भाजपाकै बहुमत हुँदा एनडीए गठबन्धनलाई वास्ता नगरेका मोदीलाई यसपटक भने आफ्नो कार्यकाल जोगाउनका लागि हरेक पटक एनडीएमा आवद्ध दलहरुलाई भने विश्वासमा लिइ राख्नु पर्ने चुनौती भने थपिएको छ ।
आइतबार हुने मोदीको सपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने तय भएको छ । सपथग्रहण पछि प्रधानमन्त्री प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने छन् ।