विश्वकप खेल्ने नेपाली क्रिकेट टिमलाई ‘मिट एन्ड ग्रिट’मा सहभागी नगराउनु : राखेप
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रीत गर्न/गराउन शुक्रबार ध्यानाकर्षन गराएको छ ।
‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरुपले केन्द्रीत भइ उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षणलगायतका कार्यहरु गर्नु पर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरुलाई सहभागी गराउनाले टिमको व्यवसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याणाकर्षन भएको छ ।’
राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।
राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनैपनि खालका कार्यक्रममा सहभागी नहुन/नगराउन तथा आफ्नो खेलमा पूर्णरुपमा केन्द्रीत भइ आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ ।
नेपाली क्रिकेट टिम यतिबेला विश्वकपको समूह चरणको दोस्रो खेलका लागि तयारीका लागि फ्लोरिडा पुगेको छ । पहिलो खेलमा नेदरल्याण्डसँग पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्ने छ ।