अमेरिका र भारतसहित ११ देशका राजदूत फिर्ता
काठमाडौं । सरकारले अमेरिका र भारतसहित ११ देशका राजदूतहरुलाई फिर्ता वोलाएको छ । विहीवार बसेकाे मन्त्रिपरिषद् बैठकले अमेरिकासहित भारत, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
भारतमा डा. शंकर शर्मा, अमेरिकामा प्रा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत थिए । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । देउवाले राजदूता नियुक्त गर्दा प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी पनि सरकारमा थियो ।
यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा प्रा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा। डा। रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् । २४ चैत २०७८ मा देउवा नेतृत्वको सरकारले उनीहरुसहित ११ राजदूत सिफारिस गरेको थियो ।
त्यसबेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन ।
कतारका लागि नेपाली राजदूतमा डा. नरेशविक्रम ढकाल छन् । २६ जेठ २०७९ मा नियुक्त भएका उनलाई पनि फिर्ता बोलाइएको छ । सरकारले पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाललाई पनि फिर्ता बोलाएको छ ।
कांग्रेसको जोडबलमा प्रचण्ड सरकारले २३ कात्तिक २०८० मा पोर्चुगलमा राजदूतावास राख्ने निर्णय गरेर राजदूतमा नेपालको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पुरा गरेर उनले २४ माघ २०८० मा मात्र नियुक्ति पाएका थिए । तर पोर्चुगल जानै नपाई उनको नियुक्ति रद्द गरिएको छ।