नेपाली क्रिकेटरको समर्थन गर्न अमेरिकाभरबाट जाँदैछन् नेपालीहरू
कृष्णराज खनाल
नर्थ क्यारोलिना, अमेरिका । आइसीसी टी २० विश्वकप क्रिकेटको रौनकले अमेरिकामा रहे बसेका नेपालीहरू तातेका छन् । मंगलवार डलासमा नेदरल्याण्ड विरुद्धको खेलमा नेपाल पराजित भएर दर्शकहरू केही निराश भए पनि नेपालको सहभागितालाई लिएर निकै उत्साहित भइरहेका छन् ।
नेपाली खेलाडीहरूको हौसला बढाउन र उनीहरूलाई उत्साह दिन विभिन्न राज्यबाट टेक्ससको डालस पुगेका करिब सात हजार नेपाली दर्शकले विजयोत्सव त मनाउन पाएनन् तर पनि समर्थन भने यथेष्ट दिएका थिए ।
अब पालो फ्लोरिडाको । जून ११ तारिख मंगलवार नेपाली टिमले श्रीलंकाविरुद्ध दोस्रो खेल खेल्नेछ । यो खेल हेर्नका लागि फ्लोरिडा जाने नेपालीहरूको ताँती लागेको छ । कतिपय नेपालीहरू हवाई मार्फत गएका छन् भने कतिपय आफ्नै वाहनमा जाने तयारी गरिरहेका छन् । टेक्ससमा जस्तै फ्लोरिडामा पनि मनग्यै नेपाली दर्शकहरू उपस्थिति हुने सम्भावना छ ।
गत जून १ देखि सुरु भएको टी २० विश्वकप क्रिकेट अन्तर्गत नेपालले पहिलो चरणका अन्य दुई खेल दक्षिण अफ्रिकाविरुद्ध जून १४ मा र वंगलादेशविरुद्ध जून १६ मा वेष्ट इन्डिजको सेन्ट भिन्सेन्टमा खेल्नेछ ।
नेपाली खेलाडीहरूको हौसला बढाउनका लागि हामी जाने तयारी गरिरहेका हौँ नर्थ क्यारोलिनाबाट फ्लोरिडा जान लागेका सुनिल केसी, घनश्याम धमला र पेशल रेग्मीले एक साथ भने। उनीहरुले आगामी हप्ता नेपालको झन्डा बोकेर फ्लोरिडा जाने तयारी गरि रहेका छन्। उनीहरु लगायत अरू थुप्रै समर्थकहरू नेपालको झन्डा बोकेर फ्लोरिडा जानेछन् ।
‘हामी चाहन्छौँ हाम्रा खेलाडीहरूले उत्कृष्ट खेल खेलेर सबैको मन जितुन्’ उनीहरु भन्छन्। उनीहरुसँग अमेरिकाको नर्थ क्यारोलिनमा बस्ने बङ्गलादेशका दुई युवा मोहम्मद र सैफुल पनि नेपालको समर्थन गर्न फ्लोरिडा जान लागेका छन् । ‘वंगलादेश र नेपाल त भाइ भाइ हुन् नि,त्यसैले उनीहरूको समर्थन गर्न र उनीहरूको खेल हेर्न जान लागेका हौँ।’ उनीहरू भन्छन् ।
कतिपय नेपालीहरूले भने घरमै बसेर नेपालको टी २० विश्वकप क्रिकेटको जर्सी लगाएर खेल हेर्ने तयारी गरिरहेका छन् । स्मृति सुवेदी भर्जिनिया बस्छिन् । उनी क्रिकेट त्यति धेरै बुझ्दिनन् तर फ्लोरिडा जाने तयारी स्वरूप हवाई टिकट बुक गरिसकेकी छन् । आफ्नो जन्मभूमि नेपालको मायाले कस्लाई पो तान्दैन र ? त्यसैले साथीलाई लिएर म पनि जान लागेकी हुँ उनी भन्छिन् ।
अमेरिका र वेष्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा २० राष्ट्रको सहभागिता छ । चार समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको कुल ५५ खेलमध्ये १६ वटा खेल अमेरिकामा हुनेछ भने अन्य खेल भने क्यारेवियन राष्ट्रमा हुनेछ ।