न्यु योर्कको टाइम्स स्क्वाएरमा सारीमा नारीको वाक्कथान
तारा भट्टराई
न्यु योर्क/ सन्सारमा सबै किसिमका लुगा कपडाहरूको आआफ्नै सुन्दरता हुन्छ। आआफ्नै इतिहास समेत बोकेको हुन्छ। तर विशेष गरेर दक्षिण पूर्वी एशियाका महिलाहरूले लगाउने सारीको पनि आफ्नै खालको इतिहास र विशेषता छ।
नेपाली, भारतीय, बङ्गलादेश, पाकिस्तानी , श्रीलंकन महिलाहरू सारीमा आफ्नो व्यक्तित्व झल्किएको पनि महसुस गर्छन्। हामी नेपाली महिलाहरूको पनि सारी लगाउने एउटा पोशाक मात्रै नभएर यो एउटा साझा भावना हो। इज्जत हो र महिलाहरूको सम्मान पनि हो।
जब चाडबाड , बिहे, व्रतबन्ध , पूजा वा धार्मिक कार्यको कुरा आउँछ अनि सारीको कुरा पनि सँगसँगै आउँछ। चाहे हामी सन्सारको जुनसुकै कुनामा नै किन नबसौँ। आफ्नो व्यक्तित्वमा पूर्ण महसुस गर्न पनि हामी नेपालीहरू सारी नै लगाउँछौँ। मैले अमेरिकामा दुई दशक भन्दा बढी बसोबास गरिसकेका केही महिलाहरूले समेत आफ्नी आमाले ४५ वर्ष अगाडी दिएको सारी लगेर चिनोको रूपमा माया गरेर दराजमा सजाएर राखेको र बेलाबेलामा भोज भतेर वा सभा समारोहमा जाँदा लगाएर जाने गरेको समेत भेटेकी छु।
अब सारी पश्चिमा जगतमा पनि क्रमशः परिचित हुँदै गइरहेको छ। साडी कपडाको एउटा टुक्रा मात्रै नभएर विश्वकै सबैभन्दा पुरानो र भद्र पहिरनहरूमा विशेषतः दक्षिण एशियाली महिलाहरूले चिनाउँदै गइरहेका छन्। यस्तै क्रममा अमेरिकाको न्यु योर्क सहरको मुटु मानिने टाइम स्क्वायरमा शनिवार ( मे-४ -२०२४) मध्यान्हको समयमा विभिन्न नौ देशका एक हजार भन्दा बढी , विभिन्न रङ्गका सारीहरूमा सजिएका महिलाहरूले पुरै ओगटेका थिए।
हातमा आ-आफ्नो देशको झन्डा बोकेका महिलाहरू ओलम्पिक शैलीको मार्च पास गरिरहँदा आत्मसम्मान र आत्मविश्वासले भरिपूर्ण देखिन्थे। साथसाथै म्युजिक, डान्स र आ आफ्नो छनौट अनुसारका उज्यालो रङ्गका सारीमा सजिएका महिलाहरू उन्मुक्त हाँसो हाँसिरहेका पनि देखिन्थे।
“सारी विश्वव्यापी हुन्छ” भन्ने मुख्य नारा रहेको यो कार्यक्रममा महिलाहरूले हातमा आ-आफ्नो देशको झन्डा बोकेर परेड गरिहरेका थिए। विभिन्न देशका सारी प्रेमी महिलाहरू निक्कै नै रमाइलो मानिरहेका थिए।
‘सारीको माध्यमबाट पनि हामी महिलाहरू महिला सशक्तीकरण , आफ्नो सांस्कृतिक समृद्धिको प्रतिनिधित्व गर्ने र आफ्नो पहिचान यो हो भनेर चिनाउने उद्देश्य कार्यक्रम गरेका हौ।’ नेपाली समूहकी संयोजक लुलु राणाले भनिनन्,’नेपाल , भारत, श्रीलङ्का , बंगलादेश, पाकिस्तान, लन्डन, मालदिभ्स,गायना, ट्रिनिडा, लगायतका महिलाहरूले सारीमा सजिएर आ-आफ्नो देशको झन्डा बोकेर प्रदर्शन गरे।’ ‘नेपालको तर्फबाट हामी नेपाली महिलाहरूले पनि प्रतिनिधित्व गर्न पाउनु हाम्रो लागी ठुलो गौरवको कुरा हो। दिदी बैनीले साथ दिनुभएकोमा म ज्यादै खुसी छु।’ राणाले भनिनन्।
आखिरमा अमेरिकाको टाइम्स स्क्वाएर ठाउँमा आउन ठूल्ठुला मुद्दाहरू पनि चाहिने रहेनछन्, सामान्य सारीको माध्यमबाट संसारका महिलाहरूसँग एक ठाउँमा हातेमालो गर्दै परेड गर्न पाउँदा निक्कै गौरवान्वित भएको कुरा नमस्ते म:म: कटेज न्यु जर्सीकी प्रोप्राइटर दीपा उप्रेती सत्यालले बताइन्। ‘मैले एक दिनका लागी मेरो व्यस्त पसल बन्द गरेर म यो कार्यक्रममा भाग लिन आएकी हुँ।’ उनले भनिन।
सारी परेडमा नेपाली ढाकाको सारीमा सजिएकी अर्की सहभागी पेशाले नर्स दुर्गा निरौला कार्यक्रममा सहभागी हुँदा आँखाबाट आँसु झरेको बताइन्। ‘टाइम्स स्क्वाएरमा नेपाली ढाका सारीमा सजिएर एकै स्वरमा नेपाली राष्ट्रिय गान गाउँदा मेरो छाती गर्भले ढक्क फुल्यो। मेरा आँखाबाट आँसु नै झरे। मैले रोक्नै सकिन। यो मन चाहिँ नेपाली नै रहेछ भन्ने आफैलाई समेत पुष्टि भयो।’