एनआरएनए युगान्डाको पहलमा एक सय नौ जनाले गरे रक्तदान
कम्पाला / गैर आवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको आयोजनामा ब्लड बैङ्क युगान्डासँग सहकार्य गरी आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका छन् ।
कम्पालामा युगान्डाका लागि नेपाली मानार्थ वाणिज्य दूत डा. सुधीर रुपारेलियाको कम्पाला प्यारेन्ट्स स्कुलमा राखिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका हुन ।
एनआरएनएकै सबैभन्दा कान्छो उमेरमा नेतृत्व गरिरहेकी गैर आवासीय नेपाली संघ युगान्डाकी अध्यक्ष रमा अर्यालबाट सुरु गरिएको रक्तदान कार्यक्रममा पूर्व अध्यक्ष विनोद थापा, पूर्व वरिष्ठ उपाध्यक्ष धनराज गिरि, पूर्व सह-कोषाध्यक्ष कल्पना अर्याल, वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष तारा गिरि, महासचिव राजु थापा, कोषाध्यक्ष मालती राना लगायत नेपालीहरूको कार्यक्रममा उल्लेख्य भूमिका रहेको थियो ।
गैर आवासीय नेपाली संघ युगान्डाले आयोजना गरेको उक्त कार्यक्रमलाई नरेन शर्मा, वीणा थापा, मालती राना, युवा संयोजक मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साइन कुजिन रेस्टुरेन्ट, हिमालयन रेस्टुरेन्ट, नेपालय रेस्टुरेन्ट, फुड प्लानेट, युगान्डाका लागि नेपाली मानार्थ वाणिज्य दूत डा. रुपारेलिया, एस. आर.सलुन लगायतले प्रायोजन गरेका थिए ।
युगान्डामा रहेका नेपालीहरूबाट यस्ता सामाजिक परोपकारी कार्यबाट सिक्न र यस्ता कार्यलाई सहयोग गर्नुपर्ने भन्दै इन्डियन एसोसिएसन, पाकिस्तान एसोसिएसन लगायत भारतका विभिन्न प्रदेशका विभिन्न संस्थाहरूबाट समेत प्रायोजकका रूपमा सहयोग मिल्नुको साथै स्थानीय समुदायको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।