राष्ट्रपति रनिङ सिल्ड: बागमति अगाडि,पछ्याउदै कर्णाली

काठमाडौं/गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन् । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । पहिलो दिन मंगलबार दुवैले ४ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चे । सुदूरपश्चिम प्रदेशका विक्रम विष्ट दोश्रो तथा कर्णाली प्रदेशका प्रकाश बुढा तेश्रो भए । सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । कर्णालीकै भावना कर्साल दोश्रो तथा लुम्बिनी प्रदेशकी अनिशा थारु तेस्रो भए ।

ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेल पहिलो भए । उनले ५२.१६ मिटर टाढा फाले । लुम्बिनीका राहुल थारु दोश्रो तथा रवि चौधरी तेश्रो बने । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता विकले स्वर्ण चुमिन् । सरिताले ३१.५४ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी दिब्याकला थारुले कांस्य हात पारे ।
छात्र लङजम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दैै पहिलो भए । सुदूरपश्चिमका सन्नी चौधरी दोश्रो तथा आशिष महर तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतो पहिलो भइन् । प्रनिशाले ४.९५ मिटर जम्प गरिन् । गण्डकीकी निशा घर्ती दोश्रो तथा सुदूरपश्चिमकी रेनुका ऐर तेश्रो बने ।

छात्र÷छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमती पहिलो भयो । छात्रमा मधेश प्रदेश दोश्रो तथा सुदूरपश्चिम तेश्रो भए । छात्रामा गण्डकी दोश्रो तथा सुदूरपश्चिम तेश्रो बने ।
कबड्डी : सेमिफाइनल समीकरण पूरा
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र÷छात्रा दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ ।
छात्रमा सुदूरपश्चिमले मधेशसंग खेल्ने छ भने लुम्बिनीले कोशी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
छात्राको सेमिफाइनल लुम्बिनी र बागमती तथा सुदूरपश्चिम र कर्णालीबीच हुनेछ ।
भलिबल : छात्रामा सेमिफाइनल समिकरण तयार
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको भलिबलको छात्रामा सेमिफाइनल समीकरण तयार भएको छ ।
समूह ‘ए’ बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे । बेस्ट अफ थ्रीमा भएको प्रतिस्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरे । अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’ मा बागमतीले पहिलो खेलमा गण्डकीलाई २५–१३ र २६–२४, दोस्रो खेलमा कर्णालीलाई २७–२५ र २५–१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५–१० र २५–८ ले हराउँदै समूह विजेता बन्यो ।

गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७ र १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२० र २५–२२ को जित निकाल्यो । समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो । समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेश प्रदेशलाई २५–१४ र २५–२१ ले हरायो । यससमूहको उपविजेता कोशीले एक मात्र जित मधेश प्रदेशमाथि २५–१८ र २५–१८ ले निकाल्यो ।
पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५–२०, १९–२५ र १५–८ तथा दोस्रो खेल कोशीलाई २५–२२ र २५–१९ ले हरायो । लुम्बिनीले यो समूहमा दुई जित निकाल्दा पहिलो खेलमा कोशीलाई २५–२० र २५–१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५–२२ र २५–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
उसु : पहिलो दिन चार स्वर्णको टुंगो
उसुको पहिलो दिन चार स्वर्ण पदकको टुंगो लागेको छ । आयोजक राखेपको सेमी कभर्डहलमा बुधबार भएको पुरुष थाइचीमा छ्वानमा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते । यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कांस्य पदक प्राप्त गरे । महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अन्जना सरदारले कांस्य पदकमा चित्त बुझाइन् ।
पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कांस्य पदक जिते । यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कांस्य पदक प्राप्त गरे ।

तेक्वान्दो: बागमतीलाई ३ स्वर्ण
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमतीले सर्वाधिक ३ स्वर्ण जितेको छ । कोशीले २ तथा मधेश र कर्णालीले समान १–१ स्वर्ण जिते ।
छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ केजीमुनि सुप्रिया बजगाईं र छात्र ५१ केजीमुनि करण धोलीले बागमतीलाई स्वर्ण दिलाए । छात्र ५९ केजीमुनि सन्जल श्रेष्ठ तथा छात्रा ५३ केजीमुनि प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते । छात्र एकल पुम्सेमा मधेशका निश्चल धामी थारु तथा छात्र ४९ केजीमुनि कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते ।
तेक्वान्दो : बागमतीनै अगाडि
सातदोबाटोस्थित कराते हलमा भएको करातेमा पनि पहिलो दिनको खेल सकिदा बागमतीले सर्वाधिक ४ स्वर्ण जितेको छ । कोशीले २ तथा लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जिते । १२ स्पर्धा समावेश करातेमा पहिलो दिन ८ स्वर्णका प्रतिस्पर्धा भएको थियो ।

बागमतीका लागि छात्राको एकल कातामा रेनिशा रिमाल, ४० केजीमुनि करुणा गढाल, ५० केजीमुनि सिरुसर भुजु र छात्र ४७ केजीमुनि राकेश मानन्धरले स्वर्ण जिते । छात्र एकल कातामा कोशीका प्रमोद राई तथा ६२ केजीमुनि कोशीका जिवेश राई पहिलो भए । छात्रा ५५ केजीमुनि लुम्बिनीकी विष्णारेश्मी मगर तथा छात्र ५७ केजीमुनि सुदूरपश्चिमका आकाश सेजवालले स्वर्ण जिते ।
कुराँश टोली भारत प्रस्थान
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार भारतको केरला प्रस्थान गरेको छ ।
अप्रिल १९ देखि २१ तारिखसम्म हुने प्रतियोगिताको सिनियर पुरुष ८१ केजीमुनि योगेनद्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेे छन् । महिलाको सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षक तथा निर्णायकमा प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापकमा ग्याल्जेन शेर्पा छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
मनीता हङकङ प्रस्थान
एसियन जुडो च्याम्पियनसिपमा सहभागी हुन मनीता श्रेष्ठ प्रधान बुधबार हङकङ प्रस्थान गरेकी छन् । अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मनीताले महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् ।
प्रशिक्षकमा देबु थापा तथा व्यवस्थापकमा सुप्रसिद्ध ताम्राकार छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
मधेश र बागमतीको जित
मधेश प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।
गणेशमान सिंह फाउन्डेनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा मधेशले लुम्बिनीलाई २७ रनले पराजित ग¥यो । मधेशका अर्निको यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले २२ बलमा ५१ रन जोडे ।
नेपाल क्रिकेट संघ (क्यान) र नागर्जुन नगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगिताको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६७ रनले हरायो । ५६ बलमा ७ चौका र ६ छक्कासहित १ सय १ रन बनाएका बागमतीका आशुतोष घिरैया ‘प्लेयर अफ द म्याच’ चुनिए ।
मूलपानी माथिल्लो क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार कर्णाली प्रदेश र लुम्बिनी तथा गण्डकी र मधेशबीच खेल हुनेछ ।

दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी बनाउन छलफल
कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी बनाउने विषयमा अग्रसरता देखाउदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुसंग छलफल गरेका छन् ।
सदस्य–सचिव घिसिङको अध्यक्षतामा त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव हंशराज वाग्ले, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंह, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्याल, राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेपका सदस्य प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, आर्थिक प्रशासन शाखाका प्रमुख रिखीराम पोख्रेल, बजेट तथा योजना शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा लगतालगायतको उपस्थिति रहेको थियो ।
बैठकमा खेलाडी छनोट, प्रदेश टिम तयराी, खेल तथा खेलाडी संख्या, ट्रफी टुर, अनलाइन खेलाडी दर्ता फारम, खेल पोशाक, किट्स ब्याग, खेलाडी बिमा, मेडिकल टिम, बसोवास, स्थानिय यातायात, खेलस्थल, खेल सामाग्री, खेल सञ्चालन सम्बन्धमा छलफल भएको थियो । बृहत राष्ट्रिय खेलकुद सम्पन्न भएपछि प्रथम पारा राष्ट्रिय खेलकुद आयोजनाका विषयमा पनि छलफल भएको थियो ।
