राजेश कर्माचार्यले पान अमेरिकन जुडो च्याम्पियनसिप खेलाउने
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ नेपाली मूलका अमेरिकी जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले पान अमेरिकन जुडो च्याम्पियनसिप खेलाउने भएका छन्।
च्याम्पियनसिप मे ४-५ चीलीको सान्टियागोमा हुँदै छ। इन्टरनेश्नल जुडो फेडेरेशनबाट पाँचौँ डान प्राप्त गरेका कर्माचार्यले पान अमेरिकन च्याम्पियनसिपमा रेफ्रीको भूमिका निभाउन लागेको यो पहिलो पटक हो।
कर्माचार्य पछिल्लो एक दशक देखि अमेरिकाको न्यु योर्कमा रहँदै आएका छन्। उनी युएस जुडोको सिफारिसमा छनौट भएका हुन्।
‘पान अमेरिकी च्याम्पियनसिपका लागि युएस जुडोले नाम सिफारिस गरेकोमा म र अर्को एक जना महिला छनौट भएका छौ।’ कर्माचार्यले समाज टाइम्स सँग भने।

पान अमेरिकन जुडो महासंघले यस क्षेत्रबाट च्याम्पियनसिपका लागि दश रेफ्रीको छनौट गरेको छ।
‘जुडोमा मेरो लक्ष्य प्राप्ति नजिक पुग्नका लागि यो अर्को मौका हो।’ कर्माचार्यले सँग भने,’म इन्टरनेश्नल ए लाइसेन्सको परीक्षा दिने तयारीमा छु, त्यसका लागि यो प्रतियोगिता खेलाउँदा झन् सहयोग गर्छ।’
कर्माचार्यका अनुसार अहिले नेपालमा पनि धर्मकुमार श्रेष्ठ सँग मात्र जुडोको इन्टरनेश्नल ए लाइसेन्स छ।
‘इन्टरनेश्नल ए लाइसेन्स परीक्षामा सामेल हुन पनि जुडोमा सक्रिय हुनै पर्छ, मैले यो वर्ष मात्र अमेरिकी जुडोको आधिकारिक दुई वटा प्रतियोगिता खेलाए जसमा पाँच अङ्कमा ४.८ र ४.९ नै ल्याएको छु।’ उनले भने।
कर्माचार्यले गत शनिवार मात्र न्यु योर्क ओपन मिक्स टिम च्याम्पियनसिप खेलाएका थियो। यो च्याम्पियनसिप उनले दोस्रो पटक खेलाएका हुन्। विश्व च्याम्पियन र ओलम्पिकमा पदक विजेता खेलाडीको समेत सहभागिता रहने न्यु योर्क ओपनमा कर्माचार्य सन् २०१५ मा पनि रेफ्रिको भूमिकामा थिए।
















