पूर्व प्रधानमन्त्री शरीफका २ छोरा ६ वर्षपछि पाकिस्तान फिर्ता

लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका दुई छोरा ६ वर्षको निर्वासनपछि मंगलबार लण्डनबाट स्वदेश फर्किएका छन् । सन् २०१६ मा पनामा पेपर्स काण्डमा हसन नवाज र हुसैन नवाजको नाम सार्वजनिक भएको थियो । त्यसपछि दुवैले २०१८ मा देश छाडेका थिए । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अदालतले खारेज गरेपछि उनीहरु स्वदेश फर्किएका हुन् ।
अदालतले दुवैलाई २०१८ मा एभेनफिल्ड मुद्दामा फरार अपराधी घोषित गरेको थियो। उनी विरुद्ध गैर जमानती पक्राउ पुर्जी जारी भएको थियो । एभेनफिल्ड मामिला शरीफ परिवारको स्वामित्व र लन्डनमा लक्जरी अपार्टमेन्टको अधिग्रहणसँग जोडिएको छ।
नवाजका छोरा मंगलबार लन्डनबाट आइपुगेको सत्तारुढ पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) पार्टीले एक विज्ञप्तिमा भनेको छ । उनीहरुलाई कडा सुरक्षाबीच लाहोरस्थित उनको जाती उमराहको घरमा लगिएको थियो। नवाज शरीफ पीएमएल-एनका प्रमुख हुन्।
शरीफ परिवारको जाति उमरा निवासलाई पहिले नै मुख्यमन्त्रीको निवास घोषित गरिएको छ, जहाँ पञ्जाबका मुख्यमन्त्री मरियम नवाज र उनका बुबा नवाज शरीफको सुरक्षा र प्रोटोकलका लागि प्रहरी तैनाथ गरिएको छ।
नवाजका छोराहरु हुसैन र हसनले आफ्नो वकिल मार्फत इस्लामावादको एकाउन्टेबिलिटी कोर्टमा निवेदन दिएका थिए । याचिकामा, उनले एभेनफिल्ड अपार्टमेन्ट, अल-अजिजिया र अन्य मुद्दाहरूमा आफ्नो विरुद्ध जारी गरिएको वारेन्ट रद्द गर्न माग गरेका थिए। जसलाई अदालतले स्वीकार गरेको छ ।
गत हप्ता, अदालतले पनामा पेपर्ससँग सम्बन्धित तीन भ्रष्टाचार मुद्दामा मार्च १३ सम्मका लागि पक्राउ पुर्जी खारेज गरेको थियो। हुसेन र हसन दुवै बेलायती नागरिक हुन् । यी दुईलाई सन् २०१८ मा आफ्ना बुबा नवाज शरीफ, बहिनी मरियम नवाज र उनका पति मुहम्मद सफदरसँगै छुट्टाछुट्टै मुद्दामा फसाइएको थियो।
नवाज शरीफ सहित सबै अभियुक्तहरू सबै मुद्दामा सफाइ पाएका छन् र हुसैन र हसन मात्र अदालतको सामना गर्न बाँकी छन्। बाबुजस्तै दुवै दाजुभाइ पनि तीनवटै मुद्दामा सफाइ पाउने सम्भावना छ । वास्तवमा, नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले उनलाई क्लिन चिट दिएको छ। एनएबीले नै उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
पूर्व प्रधानमन्त्री नवाज शरीफ पनि चुना अगाडि मात्रै स्वदेश फिर्ता भएका थिए ।