ह्यारिसबर्गको लिङ्गन पार्कमा ‘उभौली साकेला’ हुने, टाउनसिपले दियो पुन: अनुमति

ह्यारिसबर्ग/ अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा रहेको लिङ्गन पार्कमा ‘उभौली साकेला पर्व’ आयोजना गर्न स्थानीय टाउनसिपले पुनःअनुमति दिएको छ।
भुटानीज किरात राई अर्गनाइजेशन अमेरिका (बिकेएओए) ले यस पटकको उभौली साकेला ह्यारिसबर्गमा आयोजना गर्ने निर्णय गरेको थियो।
मे २६ का लागि तय भएको थियो। शुरुमा लोयर प्याक्सटन टाउनशिपले लिङ्गन पार्कमा कार्यक्रम आयोजना गर्न स्वीकृति पनि दिएको थियो। तर यस पटक कार्यक्रममा पेन्सिल्भेनिया बाहेक अन्य राज्यबाट पनि सहभागी हुने र जमघट ठुलो हुने भए पछि टाउनसिपले धरौटी रकम पनि फिर्ता गरेर स्वीकृति रद्द गरेको सूचना पठाएको थियो।
त्यस पछि भुटानीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) को पहलमा आयोजकहरू पुन टाउनसिपमा पुगेका थिए। समुदायका प्रतिनिधि र टाउनसिपका पदाधिकारीको सोमबारको बैठक पछि बृहत् रूपमा आयोजना हुने उभौली साकेलाका लागि पुन:अनुमति दिएको हो।
‘सहभागी धेरै हुने भन्दै टाउनसिपले आफैले दिएको स्वीकृति रद्द गरेको रहेछ, तर हिजो हामीले पुन स्वीकृति लिन सफल भयौ।’ बीसीएचका अध्यक्ष तिलक निरौलाले समाज टाइम्स सँग भने।
निरौलाका अनुसार टाउनसिप पदाधिकारीहरूको बैठकमा बीकेएओएका सल्लाहकार तथा संस्थापक सदस्य एवं कार्यक्रम संयोजक राज खम्बो पनि सहभागी रहेका थिए।
‘हाम्रो समुदाय वर्षौँ देखि यही क्षेत्रमा बसोबास गरेको छ, हामीले हाम्रो संस्कृति र संस्कार किन मनाउन नपाउने भनेर प्रश्न गर्यौ, त्यस पछि टाउनसिपका पदाधिकारीको पूर्ण बैठकले सकारात्मक निर्णय गर्यो।’ अध्यक्ष निरौलाले भने, ‘मान्छे धेरै हुन्छन् र व्यवस्थापनमा समस्या हुन्छ भन्ने बुझाइ टाउनसिपका पदाधिकारीलाई परेको रहेछ।’
अध्यक्ष निरौलाले कार्यक्रमले किरात समुदायको संस्कृति र संस्कारको संरक्षण मात्र नभएर टाउनसिपकै आर्थिक कारोबार पनि वृद्धि हुने कुरा आफूहरूले पदाधिकारीलाई बुझाउन सकेको बताए।
कार्यक्रम संयोजक राज खम्बोका अनुसार यस पटक ११ राज्यबाट उभौली साकेला मनाउन ह्यारिसबर्ग आउने छन्।
‘हाम्रो अर्गनाइजेशन सन् २०१४ मा दर्ता भएको हो, हामीले हरेक वर्ष फरक राज्यमा कार्यक्रम गर्छौ, यस पटक ह्यारिसबर्ग छनौट भएको हो।’ संयोजक खम्बोले भने
उनका अनुसार मे २६ दिन हुने कार्यक्रममा झाँकी प्रदर्शन, साकेला नृत्य प्रतिस्पर्धा हुने छ। ‘यो कार्यक्रममा सबैलाई निम्तो छ, त्यही भएर खुल्ला ठाउँमा कार्यक्रम गरेका हौ, हामीले हाम्रो संस्कृतिको संरक्षणका लागि कार्यक्रम गरेका हौ, कार्यक्रममा सहभागी हुन कुनै टिकट काट्नु पर्दैन।’ खम्बोले भने।
खम्बोका अनुसार उभौली साकेलामा भ्वाइस अफ नेपालको पछिल्लो सिजनका विजेता विनोद राई, आभा मुकारु लगायतको उपस्थिति रहने छ।