म रिपब्लिकन नेता हुँ, स्वतन्त्र उम्मेदवार बन्दैन : हेली
पेन्सिल्भेनिया । अमेरिकामा हुने राष्ट्रपतिय निर्वाचनका लागि रिपब्लिकन पार्टीमा उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको छ । उता डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडन नै उम्मेदवार बन्ने पक्का छ ।
रिपब्लिकन पार्टीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र निक्की हेलीबीच प्रतिस्पर्धा छ । हेली भन्दा ट्रम्प पार्टीको प्रतिस्पर्धामा धेरै अगाडि छन् । तर पनि हेलीले अझैंसम्म चुनावी अभियानलाई चलाई रहेकी छिन् ।
यसबीचमा हेलीले रिपब्लिकन पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवार बन्ने हल्ला चलेको थियो । तर, हेलीले यो हल्लालाई खारेज गरेकी छिन् । उनले आफू जहिले पनि रिपब्लिकन पार्टीको कार्यकर्ता भएको र आउँदो चुनावमा निर्दलीय (स्वतन्त्र) उम्मेदवार हुने कुनै सम्भावना नभएको पनि बताइन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै निक्की हेलीले भनिन्, ‘मैले कहिल्यै स्वतन्त्र उम्मेदवार बन्ने कुरा गरिनँ । म हृदयमा रिपब्लिकन नेता हुँ । वासिङ्टन डिसीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै निक्की हेलीले भनिन्, ‘जब म राष्ट्रपतिको लागि दौडिएकी थिएँ, त्यहाँ १४ जना प्रतिस्पर्धी थिए र मैले १२ जनालाई हराएकी थिएँ । अब मैले अझै एक जनालाई हराउनु छ ।’
रिपब्लिकन उम्मेदवार बन्ने दौडमा ५१ वर्षीय हेलीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प (७७)सँग प्रतिस्पर्धा गर्दै आएकी छन् र उनले अहिलेसम्म एउटा पनि प्राइमरी चुनाव जित्न नसकेको भए पनि आफूले उम्मेदवारी नछोडेको हेलीले बताएकी छन् ।
तर, ५१ वर्षीया निक्की हेली आफ्ना प्रतिद्वन्द्वी ७७ वर्षका डोनाल्ड ट्रम्प भन्दा ६४ अंकले पछाडि छिन् । निक्की हेलीले डोनाल्ड ट्रम्पलाई निशाना बनाएर ट्रम्पको शासनकालको चार वर्ष थप अराजकता सहन नसक्ने बताउँदै आएकी छिन् ।