अमेरिकी इन्डो- प्यासिफिक कमान्डर काठमाडौंमा के गर्दै छन् ?
काठमाडौं/ नेपाल भ्रमणमा रहेका अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी. एक्युलिनोले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र संयुक्त राज्य अमेरिका बीच कूटनैतिक सम्बन्ध स्थापना भए पश्चात दुई देश बीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकोमा खुशी व्यक्त गरे ।
उनले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्र संघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकको रूपमा रहेको कुराले गौरवान्वित भएको पनि उल्लेख गरेका थिए ।
यस्तै प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एक्युलिनोबीच सोमबार भेटवार्ता भएको छ ।
नेपाली सेनाका अनुसार शर्मासँगको भेटमा उनीहरूबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा छलफल भएको थियो ।
एक्युलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको १३ फागुनमा अवलोकन गरेका थिए । एक्युलिनोले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
उनी नेपालको तीनदिने भ्रमणमा १२ फागुनमा नेपाल आएका एक्युलिनोको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
भारतमा भएको राइसिना डाइलगमा सहभागी हुन आएका एक्युलिनो सोही क्रममा नेपाल भ्रमणमा समेत आएका हुन् ।















