गलतविरुद्ध विद्रोह र असहमति जरुरी छ : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् ।
कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरु वा शासकहरुले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताएका हुन् ।
कृष्णप्रसाद कोइरालालाई स्मरण गर्दै उनले भने, ‘कृष्णप्रसाद कोइरालाले राणाकालमा चन्द्र शम्शेरलाई फाटेको दौरा सुरुवाल र टोपी पठाउनुभयो । त्यो असहमति वा विद्रोहको नमुना थियो । पैसा कमाएर मात्र नहुने रहेछ र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश थियो । त्यसैले म भन्छु गलत गरिरहेका छौं भने असहमति र विद्रोह जरुरी छ ।’
२०६२–०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल रुवरुप विद्रोह भएको उल्लेख गर्दै डा.कोइरालाले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्याउन जरुरी रहेको बताए ।
‘संघीयता शासन व्यवस्था भनेको केन्द्रीकृत शासन चलाउनु होइन । संघीयता वा संविधानले दिएको अधिकार जनताको घर घरमा पुर्याउनुपर्छ भनेको हो । शुसासन कायम गर्नुपर्छ भनेको हो । तर नेपालमा त भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै छ । जवाफदेयी कोही छैन्, पारदर्शी छैन्,’ कोइरालाले अगाडि भने,‘लोकतन्त्र गणतन्त्र राम्रो छ भनेर मात्र हुँदैन । गणतन्त्रलाई राम्रो बनाउन चाहीं सक्नुपर्छ ।’
आर्थिक, सामाजिक, धार्मिक सबै कुरा ठिक ढंगले नसकेको औल्याउँदै डा.कोइरालाले सरकारले विकासको गति दिन नसकेको बताए । बैंकहरुको व्यवहार र विकासको गति ठिक नभएकोप्रति उनको आक्रोश थियो ।














