सगरमाथा र लुम्बिनीको ब्यानरमा अमेरिकामा तीन देशका संस्कृतिको प्रस्तुति
पेन्सिलभेनिया । नेपाली, कम्बोडियन र बर्मिज समुदायका कलाकारहरू अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया शहरमा जनवरी २० का दिन आयोजित एउटै कार्यक्रममा भेला भएर आआफ्नो जातीय सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका छन् ।
नेपाली समयअनुसार, आइतबार बिहान शुरु भएको इन्ट्रा कल्चरल इभेन्ट—२०२४ नाम दिइएको सो कार्यक्रममा पेन्सिलभेनिया राज्यको राज्यसभाका स्थानीय नेताहरू, स्थानीय शहरको मेयर कार्यालयका प्रतिनिधिहरू र अमेरिकी सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसदको कार्यालयका प्रतिनिधिहरू र नगर परिषद्का सदस्यसमेत उपस्थित थिए ।
नेपालका सम्पदाहरू सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको सो कार्यक्रम भुटानमा जन्मिएका अमेरिका निवासी नेपाली युवा व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा रहेको सामाजिक संस्था इन्ट्रा-नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाकाको आयोजनामा भएको थियो ।
संसारभरका नेपालीहरूलाई आफ्नो संस्कृतिको माध्यमबाट एकजुट पार्ने अभियान चलाइरहेको छ । कार्यक्रममा फिलाडेल्फियामा रहेका नेपाली, करेन, खमेर, बर्मेली र कम्बोडियन समुदायको ठुलो उपस्थिति थियो ।

कार्यक्रममा कम्बोडियन आइडलसमेत भएकी गायिका निमोल चोमले आफूलाई नेपालका हिमालयहरू र भागवान् बुद्धको जन्मभूमि पुग्ने रहर भएको बताएकी थिइन् ।
इन्ट्रा डान्स स्कुल, ह्यारिसवर्गका नेपाली मूलका विद्यार्थीहरूले नेपाली लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । स्थानीय नेपाली कलाकार रोमा राई र उनको समूहले राई जातिको परम्परागत साकेला नृत्यले सबैलाई आकर्षित गरेको थियो ।

आफ्नो जन्मभूमि भुटानबाट अन्यायपूर्वक लखेटिएर आफ्नै पितृ भूमि नेपालमा पनि शरणार्थी जीवन बिताएको पिडादायी क्षणमा पनि आफूहरूले नेपाली संस्कार र संस्कृतिलाई अगाडि बढाउन कुनै कसर नराखेकोका गर्व महसुस भएको बताउँदै फाउन्डेसनका तर्फबाट ओमराज गुरुङले उपस्थित सबै समुदायका सहभागीहरू र स्थानीय एवं राज्य स्तरका जनप्रतिनिधिहरूलाई स्वागत गरेका थिए ।

उनले डिल्ली अधिकारीको नेतृत्वको फाउन्डेसनले नेपाली सांस्कृतिक एकताको अभियानलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी पनि दिए । कम्बोडिन मूलका केभिन चिन र बर्मेली मूलकी थाङ सोङले सञ्चालन गरेको तीन घण्टासम्म चलेको सो कार्यक्रममा कम्बोडियन समुदायकी सेलिब्रेटी गायिका चोम निमोल, पाउला थान्च, मेला चुम, बर्माको करेन समुदायकी गायिका फेनी रकम्यानले आआफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए ।

नेपाली, बर्मेली, कम्बोडियन डान्सरहरूको प्रस्तुतिले सबैलाई प्रभावित पारेको सो कार्यक्रममा कम्बोडियन एइकारिच डोन्ट्रे ब्यान्ड, फिलाडेल्फिया करेन व्यान्डले लाइभ प्रस्तुतिसँगै सहभागीहरूलाई परम्परागत नेपाली, बर्मेली र कम्बोडियन खानासमेत खुवाइएको थियो ।
एक अर्काको संस्कृतिलाई सँगै बसेर हेर्ने र आपसी सम्मान व्यक्त गर्ने अवसर दिएकोमा फिलाडेल्फिया नगर परिषद्की निर्वाचित सदस्य डा.निना अहमदले आयोजक संस्था इन्ट्रा फाउन्डेसनलाई धन्यवाद दिएकी थिइन् ।
एसियाका विविध संस्कृतिलाई अमेरिकाजस्तो ठाउँमा पनि एउटै मञ्चमा ल्याएकोमा उनले प्रशंसा गरेकी थिइन् ।
















