पेन्सिल्भेनियामा सवारी दुर्घटनामा नेपाली भाषी भुटानी युवाको निधन

ह्यारिसबर्ग/ पेन्सिल्लभेनियाको योर्क काउन्टीमा खराब मौसमका कारण भएको सवारी दुर्घटनामा एक जना नेपाली भाषी भुटानी युवाको ज्यान गएको छ ।
पेन्सिल्भेनिया पुलिसले मङ्गलवार मध्यरातमा योर्क काउन्टी अन्तर्गत हिउँले ढाकेको आइ- ८३ हाइवेमा सवारीको ठक्करबाट एक जनाको निधन भएको बताएको थियो।
पुलिसले फेयरभ्यू टाउनशिपको माइल मार्कर ३६ नजिकै आइ-८३ को नर्थबाउन्ड लेनहरूमा भ्यानमुनि बेहोस अवस्थामा योर्कमा बस्दै आएका ४१ वर्षीय जोसेफ बिस्वालाई भेटेको जनाएको थियो।
“बिस्वालाई पेन स्टेट होली स्पिरिट मेडिकल सेन्टरमा लगिएको थियो जहाँ उनको चोटका कारण मृत्यु भयो।” प्रहरीको रिपोर्टमा भनिएको थियो।
भुटानी कम्युनिटी ह्यारिसबर्ग (बीसीएच)का अध्यक्ष तिलक निरौलाले बिस्वा आफ्नो समुदायको भएको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जालमा घटना प्रति दुख व्यक्त गरेका छन्।
योर्क गस्ती एकाइको प्रारम्भिक अनुसन्धान अनुसार राति १२ बजेर २७ मिनेटमा घटना भएको हो। इकाइका अनुसार हिउँका कारण आइ-८३ मा आफ्नो गाडी फसे पछि बिस्वा बाहिर निस्किएका थिए। गाडी बाहिर उभिरहेको समयमा बिस्वालाई दक्षिणतर्फ आउँदै गरेको गाडीले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार त्यसपछि विश्वलाई ट्याक्टर र भ्यानले ठक्कर दिएको थियो ।
घटनाले आइ-८३ को भाग लगभग छ घण्टाको लागि बन्द भएको स्थानीय सञ्चार माध्यम डब्लुएलजीएचले आफ्नो समाचारमा लेखेको छ।
बीसीएचका अध्यक्ष निरौलाले दुर्घटनामा ज्यान गुमाएका बिस्वाको बारेमा थप विवरण आउन बाँकी रहेको बताए। ‘घटनाबाट हामी स्तब्ध छौ। उनको बारेमा हामी थप बुझ्दै छौ।’ निरौलाले भने।
सोमवार साँझ देखिको हिमपातका कारण अमेरिकामा पेन्सिल्भेनिया राज्य सहित उत्तर पूर्वी क्षेत्रका कतिपय स्थानको जनजीवन कष्टकर बनेको छ।