सरकारविरुद्ध एनआरएनएको वद्री समूह अदालतमा
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको डा. वद्री केसी समूहले उच्च अदालत पाटनमा सरकारविरुद्ध मुद्दा दायर गरेको छ ।
अक्टोबरमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएको दावी गर्दै परराष्ट्रमन्त्रालयमा संस्था नविकरण (एनआरएनए) को निवदेन दर्ता भएको थियो ।
त्यहीबेला अर्को राजेन्द्र कुमार (आरके) शर्मा समूहले निर्वाचनमा धाँधली भएको भन्दै आफूहरु आधिकारिक भन्दै परराष्ट्रमै निवेदन दिएपछि नविकरणको प्रक्रिया रोकिएको छ ।
जसका कारण प्रत्येक १० वर्षमा नविकरण हुनुपर्ने एनआरएनए अहिले नविकरण पनि भएको छैन भने अधिवेशनपछि परराष्ट्रले गर्नु पर्ने अध्यावधिक पनि रोकिएको छ ।
अधिवेशन सकिएको ९० दिन पुग्न लाग्दा पनि परराष्ट्रले विवाद आएको भन्दै नविकरण र अध्यावधिक नगरेपछि एनआरएनए वद्री समूहले उच्च अदालत पाटनमा गत हप्ता निवेदन दर्ता गरेको जनाइएको छ ।
वद्री समूहका महासचिव गौरी जोशीले पाटनमा मुद्दा दर्ता गरेको पुष्टि गर्दै संस्थाको गोपनियताका कारण अहिले थप बोल्न नमिल्ने समाजटाइम्सलाई बताए ।
मुद्दा दर्ताको निवेदनमा परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर संस्था नविकरण नगरिएको बोरे कारण देखाउन माग गरिएको छ । यस विषयमा अब आइतबार अदालत खुलेपछि सुनुवाई हुने सम्भावना रहेको छ ।