राष्ट्रिय सभा निर्वाचन : कांग्रेसले टुङ्ग्यायो १० उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवार छानेको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुङ्गो लगाएको हो । उम्मेदवारमध्ये संस्थापन पक्षका छ जना छन् भने चार जना संस्थापन इतर पक्षका छन् ।
कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार भएको छ । पार्टीका पूर्व महामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् ।
बागमती प्रदेशमा अन्यतर्फ जीत जङ्ग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्व अध्यक्ष हुन् । पुडासैनी नेपाल महिला सङ्घ काठमाडौँकी अध्यक्ष हुन् ।
त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ र अल्पसङ्ख्यक तथा अपाङ्गता भएकातर्फ पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री छन् ।
लुम्बिनी प्रदेशमा महिलातर्फ विष्णुकुमारी सापकोटा, कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्व सभापति हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्यरातमा सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । उनका अनुसार सोमबार सातै प्रदेशमा उम्मेदवारको मनोनयन गर्ने तयारी छ ।