जापानमा ९० वर्षीया बृद्धाको भूकम्प गएको ५ दिनपछि जिवितै उद्धार

जापानमा नयाँ वर्षको भूकम्प गएको ५ दिनपछि एक ९० वर्षीया वृद्धालाई भग्नावशेषबाट बाहिर निकालिएको छ । पश्चिमी जापानमा भत्किएको घरबाट एक ९० वर्षीया महिलालाई जिउँदै बाहिर निकालिएको छ । भूकम्प गएको करिब १२४ घण्टापछि महिलाको उद्धार गरिएको थियो । यस भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा पाँच वर्षीय बालक पनि छन् । जनवरी १ मा गएको भूकम्पमा सबैभन्दा बढी मृत्यु वाजिमा सहरमा भएको थियो । भूकम्पपछि यहाँ ठूलो मात्रामा आगो पनि देखियो । जापानी सेनाले युद्धस्तरमा राहत कार्य गरिरहेका छन् । करिब तीस हजार जनतालाई पानी, खाना, औषधि र अन्य सुविधा उपलब्ध गराइएको थियो ।
भूकम्पपछिको आवासीय क्षेत्र मर्मत गर्न सरकारले पहल नगरेको जापानका जनताको गुनासो छ । खोजी कार्य सम्पन्न भइसकेको भग्नावशेष अस्तव्यस्त रहेको उनको भनाइ छ । भग्नावशेषका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएको छ ।
कतारी समाचार च्यानलले जापानी योमिउरी अखबारलाई उद्धृत गर्दै आफ्नो हवाई अध्ययनले उक्त क्षेत्रमा १०० भन्दा बढी पहिरो र केही प्रमुख सडक अवरुद्ध भएको पत्ता लगाएको बताएको छ । सुनामीबाट प्रभावित शिरोमारुको तटीय समुदाय जस्ता केही समुदायहरू अझै पनि सहायताको पर्खाइमा छन्।