रेनोल्ड्सबर्ग काउन्सिल म्यानको दोस्रो कार्यकालका लागि भुवन प्याकुरेलले लिए शपथ

सहयात्री ढकाल/
कोलम्बस,ओहायो/ रेनोल्डसबर्ग सिटी काउन्सिल म्यानको दोस्रो कार्यकालका लागि भुवन प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
अघिल्लो पटक निर्वाचित प्याकुरेल दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका थिए। डिसेम्बर १८ तारिख सोमबार प्याकुरेल सहित रेनल्डसवर्गका अन्य जनप्रतिनिधिहरूको एक समारोहका बिच पद तथा गोपनीयताको शपथ ग्रहणको आयोजन गरिएको छ।
रेनल्डसवर्ग सिटी हल भित्र उक्त समारोहको आयोजना गरिएको हो।
वडा १ का काउन्सिल सदस्य शानेट स्ट्रिकल्यान्ड, वडा २ का काउन्सिल सदस्य लुइस साल्वती, वडा ३ भुवन प्याकुरेल, वडा ४ का इरिन हिल र सिटी एट्रोनी क्रिस शुक सबैलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो ।
मेयर र काउन्सिलका लागि अमेरिकी कंग्रेसवुमन जोयस बिट्टीले पद तथा गोपनीयताको शपथ गराएका थिए भने न्यायाधीश चिर ब्राउनले एटर्नी शुकलाई शपथ गराएको थियो।
परिषद् सदस्य स्टेसि बेकले उक्त समारोहलाई सञ्चालन गरेका थिए।
अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायका पहिलो जन प्रतिनिधि प्याकुरेल डेमोक्र्याटिक पार्टीको तर्फबाट सिटी काउन्सिल सदस्य बनेका हुन्। उनी पहिलो पटक सन् २०२० मा निर्वाचित भएका थिए।
दोस्रो कार्यकालका लागि प्याकुरेलले शपथ लिए पछि विभिन्न व्यक्तित्वहरूले बधाई दिएका छन् ।

सिटी काउन्सिल म्यान प्याकुरेल आफ्नो समुदायमा भइरहेको विभिन्न गतिविधिलाई नजिक बाट हेरिरहेको बताउँछन्। उनी आफ्नो समुदायमा समस्या रहेको कुरा स्वीकार गर्छन्।
‘समुदायमा समस्या धेरै छन् तर म हामी के हौँ र हाम्रो समुदायमा के सम्भावना छ भन्ने बारे थप कुरा गर्न चाहन्छु हामी देशमा अपेक्षाकृत नयाँ समुदाय हौँ र व्यापार, खेलकुद र शिक्षाको क्षेत्रमा राम्रो प्रगति गरेका छौँ ।’ प्याकुरेलले भने
उनी थप्छन्,’ आज विश्वस्तताका साथ बताउन सक्छौँ कि हामी सबैभन्दा ठुलो घर मालिक समुदाय मध्ये एक हौँ जब हामी अन्य समुदायहरूसँग समान अवधिको लागि क्याम्पर गर्छौँ। रेनोल्ड्सबर्गलाई हेर्दा म भन्न सक्छु कि भुटानी आप्रवासीको योगदान हाम्रो स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण छ।’
उनले घरेलु हिंसा र स्कुल छोड्नु आफ्नो समुदायको मुख्य समस्या भएकोमा जोड दिएका छन्।
‘घरेलु हिंसा र स्कुल छोड्ने, यी सबै क्षेत्रमा सञ्चार प्रमुख हो,जनताले समयमै सही जानकारी पाउन नसकेर समय सीमा छुटेका छन् र कुनै न कुनै रूपमा ठुला समस्यामा पर्छन्, त्यसैले आगामी चार वर्षसम्म म अझ राम्रो सञ्चारको लागि वकालत गरिरहनेछु र हामी बलियो भएको समुदायलाई समर्थन गर्नेछु| “
राजनीतिमा आउनुको उद्देश्य र डेमोक्रेटिक पार्टी रोज्नुको कारण खुलाउँदै प्याकुरेल भने, ‘राजनीतिक कारणले गर्दा हामी हाम्रो देशबाट विस्थापित भएका छौँ त्यसैले म राजनीतिक रूपमा के गर्न सकिन्छ भनेर हेर्न चाहन्छु, निश्चित राजनीतिक दल बन्ने मेरो रोजाइ हो किनभने तिनीहरू मलाई स्वीकार गर्न र निर्णय गर्ने प्रक्रियामा समावेश गर्न इच्छुक थिए, काउन्सिलमा हुनु भनेको सरकारमा प्रतिनिधित्व हुनु सबैभन्दा राम्रो कुरा हो।’
भुटानका भूतपूर्व शरणार्थी प्याकुरेल सन् २००९ मा संयुक्त राज्य अमेरिकामा पुनर्वास आएका हुन्। उनी र उनको परिवार २०१४ मा ओहायो आएका हुन्।
उनी २०१५ मा अमेरिकी नागरिक बनेका हुन्। उनीहरूले रेनोल्ड्सबर्गमा आफ्नो पहिलो घर किने र तुरुन्तै समुदायमा संलग्न भए। भुवन र उनकी श्रीमती दिलको विवाह भएको १७ वर्ष भइसकेको छ। उनीहरूका दुई सन्तान अदिति र देव छन्। दुवै जना रेनल्ड्सबर्ग पब्लिक स्कुलमा अध्ययनरत छन्।
