एनसीएनसीको निर्वाचन :दुई डाक्टरबीच प्रतिस्पर्धा
कृष्णराज खनाल
राले, अमेरिका । नर्थ क्यारोलिनास्थित नेपालीहरूको जेठो संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसीएनसी) को निर्वाचन नजिकिँदै गर्दा संस्थाका अध्यक्ष पदका दाबेदारहरूबीच रस्साकस्सी र स्वस्थ प्रतिस्पर्धाले यहाँको चिसो मौसम पनि तातिरहेको छ । एक हजार २४ मतदाता रहेको एनसीएनसीको निर्वाचन यही डिसेम्बर १७ तारिख आइतबार हुने भएको छ । संस्थाको कार्यकाल दुई वर्ष २०२४–२०२५ रहनेछ ।
यो निर्वाचनमा अध्यक्ष पदमा दुई उम्मेदवारको निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नर्थ क्यारोलिनमा निकै लामो समय बसेर यहाँको सुख दुःखमा साथ र सहयोग गर्दै आउनुभएका डा. चिरञ्जीवी भट्टराई र एनसीएनसीका वर्तमान महासचिव डा. विकास शाक्यबीचको प्रतिस्पर्धामा कसले बाजी मार्ला भनेर मतदाताहरूबीच अनुमान र अड्कलबाजी हुँदै आएको छ । भट्टराई आयुर्वेदका डाक्टर हुनुहुन्छ भने शाक्य वायोमेडिकल वैज्ञानिक हुन् । अहिले दुवै पक्षका उम्मेदवारहरू समूह तथा घरदैलो अभियानमा रहेर मतदातालाई आफूतर्फ आकर्षित गरिरहेका छन् । यहाँ बसेका अधिकांश पुराना मतदाताहरूले डा. भट्टराईलाई र नयाँ पुस्ताका अधिकांश मतदाताहरूले डा. शाक्यलाई मत दिने अनुमान गरिएको छ ।
दुवै पक्षले आआफ्नो प्यानल खडा गरेर उम्मेदवारी दिएका छन् । दुवै पक्षले सामाजिक सेवालाई नै आफ्नो चुनावको मुख्य रणनीति बनाएका छन् ।समाजटाइम्ससँग कुरा गर्दै डा. भट्टराईले विगत १५ वर्षदेखि यो स्थानमा रहेर नेपालीहरूबीच सुख दुःखमा साथ र सहयोग गर्दै र पुर्याउँदै आएको कारण मतदाताहरूले यस पटक आफूलाई मतदान गर्ने अपेक्षा गरेको बताए ।
उनले आगामी दिनमा आँटिलो नेतृत्वको आवश्यकता पर्ने भएको र त्यसको नेतृत्व लिएर सामाजिक सेवा गर्न आफू तत्पर रहेको बताउँदै यो साझा घरलाई सबै जना मिलेर समुन्नत गराउन लागि पर्ने कुरामा जोड दिए । सामाजिक कार्य गर्नबाट कहिल्यै पनि विचलित नभएको बताउँदै यस पटक मतदाताबाट आफूले सकारात्मक नतिजाको अपेक्षा गरेको बताए ।
त्यस्तै, अध्यक्ष पदका अर्का प्रत्याशी विकास शाक्यले आइतबार सम्पन्न टाउन हल सभाबाट उत्साहित भएको बताएका छन् । उनले संस्थाको कार्यविधिको आधुनिकीकरण र रुपान्तरण, युवा केन्द्रित कार्यक्रमको निरन्तरता, संस्थामा नजोडिएका नर्थ क्यारोलिनावासीहरुलाई संस्थासँग जोड्ने र सामुदायिक भवन निर्माणलाई प्राथमिकता दिने जस्ता महत्त्वपूर्ण कार्य गर्ने वचनबद्धता व्यक्त गरे । उनले पनि आफ्नो समूहमा विभिन्न विषयका ‘विज्ञ’हरू भएकोले आफ्नो समूहले जित्ने दाबी गरेका छन् । शाक्यले रोवोटिक र कोडिङ, खेलकुद लगायत युवा लक्षित कार्यक्रमलाई सशक्त ढङ्गले अघि बढाउन आफूहरू तत्पर रहेको पनि व्यक्त गरे ।
डा. भट्टराईको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कुलानन्द शर्मा, उपाध्यक्षमा रचना सुवेदी र महासचिवमा कृषि अधिकारी छन् भने सदस्यहरूमा कृष्णहरि पौडेल र युवा प्रियांशु नेपालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै अर्का प्रत्याशी डा. शाक्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ददिन पाण्डे, उपाध्यक्षमा नारायण लुइँटेल, महासचिवमा कल्पना भण्डारी, सह महासचिवमा डा. भोज गौतम र कोषाध्यक्षमा ईश्वर ढकाल रहेका छन् । सो प्यानलका सदस्यहरूमा तीला धमला, निभिता शर्मा, रमेश ओली र कालिदास भण्डारीले उम्मेदवारी दिएका छन् ।