उपप्रधानमन्त्री खड्का भन्छन् ‘एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिन’
दोहा । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । काँग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरू एकजुट हुन नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।
कतारमा खड्काको सम्मानमा जनसम्पर्क समिति कतारद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘म जनसम्पर्क समितिहरूलाई नै सोध्न चाहन्छु, एनआरएनएबारे तपाईँहरूको धारणा के हो ? जनसम्पर्कका साथीहरू तपाईँहरू किन एकताबद्ध हुन सक्नु भएन, किन एक भएर चुनाव लड्नु भएन ?’
यही विषयबाट आधिकारिकताको प्रश्न उठ्ने भन्दै खड्काले यसबारेको विवादमा आफू अहिले प्रवेश गर्न नचाहेको बताए । उनले संसार भरी रहेका जनसम्पर्क समितिहरूले एकताबद्ध बन्नुपर्नेमा जोड दिए । ‘ संसारभरका जनसम्पर्क समितिहरूले नयाँ खोजी, नयाँ छलफल र नयाँ बहस चलाउन जरुरी देखेको छु’, उनले भने,जनसम्पर्क समितिमा ‘विगतदेखि कै समस्या देखिएको छ ।’
उनले अहिले आधिकारिक रूपमा आफूले कुनै एनआरएनएलाई पनि नमानेको आशय व्यक्त गर्दै निर्वाचनमा धाँधली भयो भन्नेमा पार्टी निकटकै जनसम्पर्क समिति नै रहेकाले जनसम्पर्क समितिले नै आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताए ।
गत ११ औँ विश्व सम्मेलनमा बद्री केसीको टिमबाट धाँधली भएको दाबी गर्दै काँग्रेस निकट उम्मेदवार महेश श्रेष्ठ र आरके शर्मा समूहले नतिजा अस्वीकार गरेका थिए । श्रेष्ठका साथै अर्का उम्मेदवार आरके शर्माले समेत नतिजा अस्वीकार गरेर शर्माको नेतृत्वको नयाँ कमिटी गठन गरिएको थियो ।
विश्व सम्मेलनबाट दुई कमिटी बनेपछि शर्माले आफूलाई आधिकारिकताको दाबी गर्दै आएका छन् भने केसी पक्षेचाहिँ आफू नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।
यद्यपि दुवै समूहले हालसम्म छुट्टाछुट्टै गतिविधि गर्दै आएको छ भने विवादकै कारण एनआरएनएको दर्तासमेत नवीकरण हुन सकेको छैन ।
परराष्ट्र मन्त्रालयले एनआरएनएमा एकता नभएसम्म दर्ता नवीकरण नगर्ने बताउँदै आएको छ ।