साझा उद्देश्य प्राप्तिको लागि एनआरएनएन अमेरिका र एभरेस्ट क्रेडिट बिच सहकार्य गर्ने तयारी
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका र एभरेस्ट फेडरल क्रेडिट युनियन बिच औपचारिक रूपमा सहकार्यको तयारी सुरु गरिएको छ।
अमेरिकामा नेपालीहरूबाट स्थापित युनियन एनआरएनए अमेरिकाको परिकल्पना हो। एनआरएनएको बैठकको निर्णय पछि स्थापना भएको भए पनि दुई संस्था बिचमा सहकार्य हुन सकिरहेको थिएन।
एभरेस्ट फेडरल क्रेडिट युनियनले आफ्नो व्यापार विस्तार गर्ने क्रममा पहिलो शाखा स्वरूप ड्यालस टेक्सस स्थित नेपाली मन्दिरमा आफ्नो पहिलो शाखा विस्तार गर्न सकेको छ । पछिल्लो समयमा आफ्नो व्यापारलाई आक्रामक रूपमा प्रस्तुत गर्दै आएको क्रेडिट युनियनले अब एनआरएनए अमेरिकासँगको सहकार्यमा आफ्नो सदस्यता वृद्धि गर्नेतर्फ छलफल अन्तरक्रिया गर्दै आइरहेको छ।
साझा उद्देश्य प्राप्तिका लागि समुदायको सेवामा समर्पित दुई संस्थाहरूले कुन कुन विषयमा सहमति र सहकार्य गर्न सकिन्छ भनी विभिन्न चरणमा छलफल भइरहेको र क्रेडिट युनियनको तर्फबाट केही प्रपोजलहरु समेत प्राप्त भएको एनआरएनए अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देलले बताए।
‘प्राप्त प्रस्ताव माथि प्रारम्भिक अध्ययन गरी कार्यसमितिमा उपयुक्त प्रस्ताव लैजानेछु, र कार्यसमितिले अनुमोदन गरेको खण्डमा हामी सहकार्य गर्न सक्छौ।’ सिग्देलले भने।
सिग्देलका अनुसार एनआरएनए अमेरिकाका पञ्जीकृत सदस्यहरूलाई न्यूनतम मूल्यको जीवन बिमा सुरु गर्ने योजना रहेको जसका लागि एभरेस्ट फेडरल क्रेडिट युनियनले सहयोग गर्न सक्ने विषयमा छलफल भइरहेको छ। यदि यसो गर्न सकियो भने गो फन्ड मीको झन्झटबाट मुक्त रहन सकिने सिग्देलले बताएका छन्।
वर्तमान अवस्थामा फेडरल क्रेडिट युनियनले सदस्यता विस्तार गरी १० हजार सदस्यता पुर्याउन सकेको खण्डमा सम्पूर्ण सदस्यहरूले न्यूनतम १० हजार डलर मूल्य बराबरको लाइफ इन्सुरेन्स सोझै पाउने अवस्था छ।
यस कार्यमा सहयोग गर्न एनआरएनए अमेरिकाका सम्पूर्ण च्याप्टरहरूलाई परिचालन गर्ने विषयमा पनि निरन्तर छलफल भइरहेको जनाइएको छ। यसैको फल स्वरूप हाल नेपाली मन्दिर युलेसमा रहेको शाखा कार्यालयमा गई टेक्सस च्याप्टरका च्याप्टर अध्यक्ष दीपेन्द्र गुरागाईँले च्याप्टरको खाता खोलेका हुन्। सो अवसरमा टेक्सस च्याप्टरका कोषाध्यक्ष विनोद कुमार शाह पनि उपस्थिति रहेको थियो।