एनआरएनए पेन्सिल्भेनिया च्याप्टरको रक्तदान, एक हजार डलर र ६५ इन्चको टिभी उपहार

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिलभेनिया च्याप्टरले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
च्याप्टरका उपाध्यक्ष अभिषेक थापाका अनुसार डिसेम्बर १५ तारिख शुक्रवार पेन्सिल्भेनियाको मेकानिक्सबर्ग रक्तदान कार्यक्रम गरिने छ।
अमेरिकी रेडक्रस संघको सहकार्यमा एनआरएनए पेन्सिल्भेनिया च्याप्टरले रक्तदान गर्न लागेको हो।
‘जीवनको उपहार दिनुहोस्, उपहार प्राप्त गर्नुहोस्’ भन्ने स्लोगनका साथ हुन लागेको रक्तदानमा दाताले उपहार पनि पाउने छन्।
उपाध्यक्ष थापाका अनुसार रक्तदानमा सहभागी सबैले दश अमेरिकी डलरको एमाजोनको गिफ्ट कार्ड पाउने छन्।
यस्तै रक्तदाता मध्ये १२ जनालाई विशेष पुरस्कार प्रदान गरिने छ। जसमा एक हजार अमेरिकी डलर, ६५-इन्चको एमाजोन फायर टिभी र नेपालबाट ल्याइएको दश वटा हस्त निर्मित ब्रेसलेट रहेका छन्।
उपहारका लागि शर्त लागु हुने रेडक्रसले जनाएको छ। उपाध्यक्ष थापाले ह्यारिसबर्ग आसपासमा रहेका सबै नेपाली र नेपाली भाषीलाई रक्तदानमा उपस्थित हुन अनुरोध गरेका छन्।