बंगलादेशमा सुनिरालाई रजत
ढाका । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट- १ मा शुक्रबार रजत जितेकी छन् ।
ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स सिंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरिडसंग ६-३ र ६-४ ले चुकेपछि सुनिरा रजतमा सीमित भएकी हुन् ।
बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए ।
सुनिरा पहिलो चरणमा बाइ पाउदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । प्रिक्वाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७-५ र ७-६ ले पराजित गरेकी सुनिराले क्वाटरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६-४ र ६-४ ले पराजित गरिन् ।
सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६-३ र ६-० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
उक्त प्रतियोगितामा नेपालबाट आइशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पदकविहीन बने ।
नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट- २ मा पनि सहभागिता जनाउने छ । सर्किट- २ भने बंगलादेशको राजशाहीमा हुनेछ ।