एनआरएनए अमेरिकाको आपत्कालीन बैठक: भूकम्प पीडितको नाममा गोफण्ड नखोल्ने
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले नेपालमा जाजरकोट भूकम्प पीडितका नाममा गोफण्ड नखोल्ने भएको छ।
एनसीसी अमेरिकाको गए राति बसेको आपत्कालीन बैठकले राहतको नाममा गोफण्ड नउठाउने तर नेपालबाट स्थानीय वा सङ्घीय सरकारले आह्वान गरेमा तयारी अवस्थामा बस्ने निर्णय गरेको महासचिव रामहरि अधिकारीले समाज टाइम्सलाई बताए।
‘सरकारले आह्वान गर्यो भने राहत पठाउनका लागि तयारी अवस्थामा बस्ने तर सर्वसाधारणबाट गोफण्डमा रकम नउठाउने भन्ने निर्णय भयो।’ बैठक पछि अधिकारीले भने।
यद्यपि आपत्कालीन कोषका लागि भने रकम जम्मा गर्न सकिने निर्णय भनेको अधिकारीको भनाई छ।
अधिकारीका अनुसार पुनर्निर्माण तथा दीर्धकालिन योजनका लागि भने एनआरएनए अमेरिकाले अग्रसरता देखाउने निर्णय बैठकले गरेको छ।
‘भूकम्पले क्षति भएका संरचनाको पुनर्निर्माणका लागि भने हामीले सोझै काम गर्नु पर्छ भन्ने बैठकको निर्णय भयो। त्यसका लागि आपतकालिन कोषबाट खर्च गर्ने निर्णय भएको छ।’
आइसीसी सँगको सम्बन्धका बारेमा भने एनआरएनए अमेरिका मौन बसेको छ।
पछिल्लो चुनावको नतिजा घोषणा गर्न क्रममा गम्भीर त्रुटि देखिए पछि विवाद बढ्दा आइसीसीमा अहिले दुई वटा समानान्तर समिति अस्थित्वमा रहेका छन्।
दुवै समितिले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरणमा सक्रियता देखाएका छन्।