एनआरएनएको विवाद समाधानका लागि नयाँ शिराबाट छलफल अघि बढाउन डा पौडेलको अपिल

पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचनमा उपाध्यक्षमा विजयी भनिएका तर शपथ नलिएका डा. केशव पौडेलले विवाद समाधानका लागि नयाँ शिराबाट छलफल अगाडि बढाउन अपिल गरेका छन्।
एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा आइसीसीका निवर्तमान महासचिव पौडेलले संस्था विभाजनले प्रभावकारी काम गर्न नसक्ने पनि बताएका छन्।
‘विभाजित एनआरएनएले आम गैर आवासीय नेपालीको निम्ति प्रभावकारी कार्य गर्न सक्दैन र यो आम गैर आवासीय नेपालीको चाहना विपरीतको कार्य हो भन्ने कुरा हामी सबैले मनन गरौँ ।’ डा. पौडेलले मंगलवार जारी विज्ञप्तीमा भनेका छन्।
अक्टोबर १९ तारिखमा सम्पन्न चुनावको नतिजा सार्वजनिक गर्ने क्रममा उपाध्यक्षका उम्मेदवार डा पौडेलको काठमाडौँ बुथमा शून्य मत देखिए पछि विवाद भएको थियो। त्यस पछि तीन अध्यक्षले अर्को व्यवस्था नभए सम्मका लागि भन्दै सबै प्रक्रिया स्थगन गरेका थिए।
त्रुटिपूर्ण नतिजामा अध्यक्षमा डा केसी पहिलो, शर्मा दोस्रो र महेश श्रेष्ठलाई तेस्रो देखाइएको थियो।
सोही समयमा तीन मध्येका एक अध्यक्ष डा. बद्री केसी समूहले आफूहरू विजेता भएको भन्दै शपथ ग्रहण गरेका थिए। यस्तै अध्यक्षमा पराजित आरके शर्मा महासचिवमा पराजित बुद्धि सागर सुवेदी समूहले समानान्तर समिति बनाएका थिए।
एनआरएनको निर्वाचनमा अस्ट्रेलियाको भेरो नामक कम्पनीको प्रयोग गरिएको थियो। सुरुमा चुनाव हारेका भनिएका डा पौडेललाई पछि विजेता घोषित गरिएको थियो। पौडेल डा केसी टिमको शपथमा अनुपस्थित थिए। उनलाई आरके शर्मा समूहमा पनि उपाध्यक्ष राखिएको छ।
डा.पौडेलले विज्ञप्तिको पूर्ण पाठ
सम्पूर्ण गैर आवासीय नेपाली आमा–बुबा, दाजु–भाई तथा दिदी–बहिनीहरुमा नमस्कार
सर्व प्रथम, विजयादशमीको अवसरमा नेपाल र नेपाल बाहिर रहनुभएका समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन यसै साता काठमाण्डौंमा आयोजना भएको यहाँहरु सबैमा जानकारी रहेकै छ । त्यस सम्मेलन शान्तिपूर्ण रुपमा साधारणसभासँग जोडिएका प्रकृयाको समापन र नयाँ नेतृत्व चयनको मुख्य जिम्मेवारी पुरा गरे पश्चात सम्पन्न हुने सम्बन्धमा हामी सबैलाई थाहा रहेकै विषय हो । गैरआवासीय नेपाली संघको सम्मेलन पछि काठमान्डौंबाट कर्मभूमि अमेरिका आईपुगेको छु। तर सम्मेलन जे जसरी सम्पन्न भयो यसमा आम गैर आवासीय नेपाली खुशी हुने अवस्था बनेको छैन ।
सम्मेलनका दौरान मतदान प्रक्रिया सम्पन्न भएपनि मत परिणाम घोषणाका क्रममा शंसय पैदा हुने अवस्था देखिएको बारे हामी सबै अवगत नै छौं । त्यस सम्मेलनमा म पनि उपाध्यक्ष पदको उम्मेद्वार रहेको थिए, र मलाई आफ्नो अमुल्य मत, साथ र समर्थन प्रदान गर्नुहुने सबै मतदाता प्रतिनिधिहरुमा हार्दिक आभार व्यक्त गर्दछु । भौतिक रुपमा नेपालमा उपस्थित भएर र अनलाईनका माध्यमवाट मत प्रकट गर्नुहुने तथा सम्मेलनको प्रक्रियामा सामेल भई सम्मेलन सफल पार्नका लागि योगदान दिनुहुने सबैमा हृदयदेखिनैं धन्यवाद ज्ञापन गर्दछु ।
सम्मेलन आयोजनाका दौरान महासचिवको रुपमा मैले मेरो जिम्मेवारी निभाउने क्रममा तपाई सबैवाट प्राप्त सहयोगलाई म सम्मान व्यक्त गर्दछु । तर सम्मेलन हामीले सोचे जसरी र हुनुपर्ने जसरी सम्पन्न हुन नसकेको अवस्था प्रति भने म व्यक्तिगत रुपमा पनि तपाई सबैसँग माफी माग्न चाहन्छु ।
गैर आवासीय नेपालीलाई अधिकार दिने मुद्दाको महत्वपूर्ण उपलब्धी भित्र पर्ने गैर आवासीय नेपाली नागरिकताको कार्यन्वयन तर्फ हामी अघि बढिसकेका छौं । यी बाहेक पनि हामीसँग जोडिएका धेरैं मुद्दाहरुलाई सम्बोधन गराउन सम्बन्धित पक्षसँग हामीले आवाज उठाईरहनुपर्ने अवस्था छ । यसका निम्ति हामी आम गैर आवासीय नेपालीको विचमा एकता नै पहिलो विषय रहेको हुन्छ । तर पछिल्लो सम्मेलनका दौरान सिर्जित समस्या र त्यसलाई समाधान गर्नका लागि गर्नुपर्ने दायित्व तथा देखाउनुपर्ने लचकतामा चुक्दा फेरि हामी आम गैर आवासीय नेपालीप्रति गलत धारणा र गैर आवासीय नेपाली संघ प्रतिको गलत बुझाई देखिने अवस्थाको निर्माण भएको छ ।
चुनावी प्रक्रिया, मतदानको प्रक्रिया र मतगणनाको प्रक्रियामा शंसयको अवस्था देखिएको बारे सबै जानकार नै छौं । त्यस संसयलाई अन्त्य गर्ने भनेको छानविन गरेर नै हो । छानविन गरेर सत्य तथ्य बाहिर नआउँदा सम्म हतारिनु पर्ने खासै केही थिएन । संस्था कहि जाने पनि थिएन ? हामी सबैले छानविन गरेर सत्य तथ्य पत्ता लगाई प्रक्रिया अगाडि बढाउने सम्बन्धमा मत जाहेर गरेको सबैमा अवगत नै छ । तर त्यो प्रक्रिया पुरा नभई एक तरिकाले भन्दा पेल्ने हिसाबले साथीहरुले प्रक्रिया अगाडि बढाउँदा अहिले फेरि थप जटिलता देखा परेको छ ।
हामी कोही कसैले पनि अतिवादी शैली प्रर्दशन गर्नु किमार्थ पनि सही हुन सक्दैन । छानविन गरेर सत्य तथ्य बाहिर ल्याएर सम्मेलनको बाँकी कार्यक्रम अगाडि बढाउने सहमती विपरित साथीहरु हतारिएर अनावश्यक आशक्ति देखाई अगाडि बढ्नु र त्यसको प्रतिक्रिया स्वरुप अर्को समानान्तर समिति बनाउनु दुवै सही थिएन र हामी सबैवाट जानेर वा नजानेर कमजोरी भएको तितो यर्थातता हामी सबैले स्वीकार गर्नैपर्दछ ।
सबै एकमत भएर अघि बढ्नुपर्ने आवश्यकता रहेपनि त्यस विपरितको कार्य अघि बढिरहेको छ । सहमती र सहकार्य अहिलेको आवश्यकता हो भन्ने कुरालाई जोड दिदैं म आफू अध्यक्ष पदमा उठ्ने तयारीका बीच पनि उपाध्यक्ष पदको उम्मेद्वार भएको थिए ।
जित वा हार मेरा लागि समान्य विषय हो । प्रजातान्त्रिक पद्दतीमा विश्वास राख्ने र त्यो अभ्यास गर्ने मलाई मतको परिणाम मेरो पक्षमा आउने वा नआउने भन्ने कुरा भन्दा पनि प्रजातान्त्रिक मुल्य मान्यता भित्रको अहं पक्ष निर्वाचन प्रक्रिया पारदर्शि रह्यो या रहेन, निर्वाचन प्रक्रियासँग जोडिएर संसय गर्ने विषयहरु उठे कि उठेनन् भन्ने कुराले बढी महत्व राख्दछ ।
यस अघि पनि म आईसिसीको निर्वाचनमा भाग लिएर उपाध्यक्ष पदमै मेरो मत केही नपुगेपनि त्यसलाई मैले अन्यथा लिईन र निरन्तर एनआरएन अभियानमा लागिरहे, एनआरएन अभियानमै लागिरहँदा महासचिवको जिम्मेवारीमा रही ११ औं सम्मेलन सफल पार्न आफ्नो तर्फबाट न्याय गर्ने कोशिस रह्यो ।
सबैलाई मिलाएर लैजानुपर्दछ र सबैको सहभागिता तथा सबैले अपनत्व अनुभूति गर्ने एनआरएनए बनाउनुपर्दछ भन्ने मेरो मत रहँदैं आयो । जे भयो त्यसलाई अव सबैले आ आफ्नो ठाउँवाट मेरो गोरुको बाह्रैं टक्का भनेर अड्डी कस्नुभन्दा छलफलको माध्यमवाट निर्वाचन प्रक्रियासँग उठेका प्रश्नलाई छानविनका माध्यमवाट टुंगोमा पुर्याई नयाँ शिरावाट एनआरएनएलाई अगाडि लैजान सबैले उपयुक्त दायित्व निर्वाह गर्नु अहिलेको आवश्यकता हो ।
११ औं महाधिवेशनलाई हामीले फुटको सम्मेलन होईन एकताको सम्मेलन, सहमतीको सम्मेलन, संस्थागत सम्मेलन र बलियो एनआरएनए निर्माणको सम्मेलन बनाउन चाहन्थ्यौं तर त्यसो हुन नसक्ने परिस्थितिको निर्माण भयो । अव फेरि त्यही कुरामा रहेर हामी सही गन्तव्यमा पुग्दैंनौं, सबैले आत्मसमिक्षा गरौं , सबै एक ठाउँवाट उभिएर सर्वपक्षिय र सर्वसहमतीको वातावरण निर्माणमा लागौं म सबै एनआरएनए अभियन्ताहरुमा आग्रह गर्दछु ।
मेरो ठाउँवाट मैले यसका निम्ति आवश्यक पहल गर्न सक्ने छ भनेपनि म सधैं तयार नै रहेको छु । पदमा हुनु वा नहुनु, विजयी हुनु वा उपविजयी हुनु यी विषयले मेरा निम्ति एनआरएनए अभियानमा योगदान दिनका लागि केही फरक पार्दैन ।
म सधैं एनआरएन अभियानमा लागिरहने पात्र हुँ । यसर्थ म सबै साथीहरुलाई नयाँ शिरावाट छलफल अघि बढाउन आग्रह र अनुरोध गर्दछु । ११ औं सम्मेलनमा सहभागि हामी सबैका विचमा मात्र होईन १० औं सम्मेलनवाट अलग हुन पुगेका अभियन्ताहरु समेत अट्ने र आउने वातावरणको निर्माण गरौं सम्बन्धित सबैमा अपिल गर्न चाहन्छु । विभाजित एनआरएनएले आम गैर आवासीय नेपालीको निम्ति प्रभावकारी कार्य गर्न सक्दैन र यो आम गैर आवासीय नेपालीको चाहना विपरितको कार्य हो भन्ने कुरा हामी सबैले मनन् गरौं ।
अन्त्यमा, सम्मेलनलाई सफल पार्ने हेतु योगदान गर्नुहुने सबै सरोकारवाला निकाय, संघ संस्था, प्रतिनिधि, एनआरएनहरु तथा शुभेच्छुक सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । हामी सबै मिलेर एकतावद्व एनआरएनए निर्माणमा अग्रसर होऊ, नेपाल सरकारलाई समेत यस कार्यका लागि आवश्यक पहलकदमी लिन पनि आग्रह गर्दछु ।
जय एनआरएनए । जय एनआरएन ।
भवदीय,
डा. केशव पौडेल
नर्थ क्यारोलिना, अमेरिका ।