एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ : असन्तुष्ट समूह

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार द्वय महेश कुमार श्रेष्ठ तथा आर के शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफूलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन्।
शनिवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीन जना अध्यक्षहरू बिच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाए।
‘संघका अध्यक्ष कुल आचार्य, रवीना थापा तथा केसीले निर्वाचनमा भएका अनियमतिताहरुको छानबिन गर्न प्राविधिक विज्ञहरू रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न शुक्रवार सहमति जनाएका थिए। तर उक्त सहमतिको मसी सुक्न नपाउँदै आफै उम्मेदवार रहेका निवर्तमान अध्यक्ष केसीले शनिवार हतार हतारमा शपथ लिएका थिए। देशको समृद्धिमा योगदान दिने उद्देश्यले म यो अभियानमा लागेको हुँ। संस्थालाई यसरी दुरुपयोग गरिन्छ भन्ने थाहा पाएको भए म यो अभियानमै लाग्ने थिइन,’ श्रेष्ठले भने।
त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरोले गराएको मतदान प्रक्रियाबारे गम्भीर आशङ्काहरू उत्पन्न भए पछि आफूहरूले छानबिन गर्न माग गरेको तर निर्वाचन समितिका एक सदस्यले विवादको टुङ्गो नलाग्दै एकपक्षीय रूपमा केसी र उनी पक्षीय उम्मेदवारहरूलाई शपथ दिलाएको बताए। ‘यस्तो शपथ हामीलाई मान्य छैन,’उनले भने । उनले एक छानबिन समिति गठन गरेर निर्वाचनका क्रममा भएका सबै अनियमितताहरूको छानबिन गर्न माग पनि गरे।
निवर्तमान अध्यक्ष बद्री केसीले एक पक्षीय रूपमा शपथ लिए पछि अध्यक्ष द्वय कुल आचार्य र रवीना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिएका छन्। उनीहरूले निर्वाचन सम्बन्धी विवादको टुङ्गो नलाग्दै गराइएको शपथ विधान विपरीत भएकाले त्यो मान्य नहुने बताएका छन्।
कार्यक्रमको सञ्चालन संघका महासचिव डा केशव पौडेलले गरेका थिए।