इजरायलमा फसेकालाई उद्धार गर्न परराष्ट्रमन्त्री पठाउने निर्णय
काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको बिमान त्यसतर्फ पठाउने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो । नेपालीलाई लिन नेपाली बिमान त्यसतर्फ बुधबार राती जाने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
नेपाल आउन चाहने मध्ये सवै भन्दा बढि विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको उहाले बताउनुभयो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताए ।
इजरायलबाट नेपाल आउन चाहनेको विवरण सरकारले अनलाइन माध्यमबाट संकलन गरेको छ । जस अनुसार अहिलेसम्म ४ सय जनाले नाम नेपाल फर्कनका लागि टिपाएका छन् । उनीहरुलाई क्रमश नेपाल ल्याउने सरकारले निर्णय गरेको छ ।