एनआरएनए निर्वाचन : उपाध्यक्ष मिलाउन महेशलाई सकस,कोषाध्यक्षमा उम्मेदवार पाउन हम्मे हम्मे

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनमा अध्यक्षका पदका प्रत्याशी महेश श्रेष्ठले उपाध्यक्षका उम्मेदवार व्यवस्थापन सकस परेको बताइएको छ।
‘खुल्ला ६ उपाध्यक्ष मध्ये चार जनाको त टुङ्गो लागि सक्यो दुई जनामा हामी अन्तिम निर्णय लिँदै छौ।’ श्रेष्ठ निकट स्रोतले समाज टाइम्सलाई भन्यो। ‘महेश जीको टिमबाट चुनाव लड्न इच्छुकको सङ्ख्या धेरै छ साथीहरू सबैलाई व्यवस्थापन गर्दै छौ।’
उनका अनुसार टिम महेशको उपाध्यक्षको पहिलो लिस्टमा एनआरएनए आइसीसीका वर्तमान महासचिव अमेरिका निवासी डा. केशव पौडेल रहेका छन्। पौडेलले अध्यक्षको दावेदारी गर्दै आएका थिए।
यस्तै गरी नेदरल्याण्डका नारायण आचार्य, बेल्जियमका गंगाधर गौतम र कतारका राज रेग्मीको टिकट पक्का भएको छ।
पाँचौँ उपाध्यक्षमा सुनिल साह र राजन त्रिपाठी मध्ये कसलाई लिन भन्नेमा अन्योल रहेको बताइएको छ। एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष साह वर्तमान कोषाध्यक्ष पनि हुन्। उनलाई अध्यक्षका अर्का प्रत्याशी डा. बद्री केसी टिमले पनि पर्ख र हेरको अवस्थामा राखेको छ।
साह निकटका अनुसार उनी मिलेसम्म महेश टिमबाट नै आफूलाई मैदानमा उतार्ने रणनीतिमा रहेका छन्। तर महेशलाई अध्यक्षमा टिकट दिलाएका एनआरएनए आइसीसीका पूर्व अध्यक्ष जीवा लामिछानेको आशीर्वाद राजन त्रिपाठीलाई रहेको बताइएको छ।
‘लामिछानेकै कारण अघिल्लो पटक घरमै बसेर सचिव पद पाएका त्रिपाठी अहिले उपाध्यक्ष पनि बोनसमै पाउनेमा ढुक्क छन् त्यसले गर्दा निर्णय लिन अप्ठेरो परेको छ।’ स्रोतले भन्यो,’खासमा हामी सबै जना साहकै पक्षमा छौ उहाँले अमेरिकाको अध्यक्ष हुँदा होस या वर्तमान कोषाध्यक्षको रूपमा राम्रो काम गर्नु भएको छ, उहाँलाई छोड्न हुँदैन भन्ने नै छ।’
“राजनजीलाई हामी कहीँ न कहीँ व्यवस्थापन गर्ने गरी छलफल गर्दै छौ, सुनिल जीले अघिल्लो पटक नै उपाध्यक्षको तयारी गर्नु भएको थियो हाम्रै आग्रहमा कोषाध्यक्षमा जानु भएको हो,यस पटक उहाँका लागि उपाध्यक्ष पदको विकल्प छैन।’ महेश टिमबाट टिकट वितरणको जिम्मा पाएका मध्ये एक पदाधिकारीले भने।
स्रोतका अनुसार छैटौँ उपाध्यक्षका लागि जापानका रोबिन शेरचन,मलेसियाका खगेन्द्र न्यौपाने र अस्ट्रेलियाका गणेश केसी मध्येबाट एक जना अगाडि आउने छन्। रोबिनको नाम डा. बद्री केसी टिममा पनि छ।
महिला उपाध्यक्षमा क्यानडाकी विमला सापकोटा र युवा उपाध्यक्षमा पोर्चुगलका रवीन अधिकारीलाई टिम महेशको टिकट दिइने भएको छ।
महासचिवमा यस अगाडि नै एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीको पक्का भइसकेको छ।
दुई उपमहासचिवका लागि चार जनाको नाममा बहस भइरहेको जनाइएको छ। कतारका प्रवीण गुरुङ, बेलायतका सोम सापकोटा, अस्ट्रेलियाका कृष्ण गिरी र अमेरिकाका प्रमोद सिटौला मध्ये दुई जना टिम महेशको उपमहासचिवको उम्मेदवार हुने छ। प्रमोदको नाम टिम बद्रीमा पनि रहेको छ।
सचिवको ६ पदका लागि अमेरिकाका रामसी पोखरेल, कृष्ण जीवी पन्तले टिकट पाएका छन्। यस्तै गरी पोर्चुगलका भीमकमल केसी,बेलायतका दयानिधि सापकोटा, दुबईका मनोज गोर्खाली, क्यानडाका दीपक गौतमले पनि टिम महेशमा सचिव पदमा टिकट पाएका छन्।
टिम महेशबाट कोषाध्यक्षमा भने अहिले सम्म इच्छुक उम्मेदवार देखिएका छैनन्। ‘महेश जी कोषाध्यक्षबाट उपाध्यक्ष हुँदै अहिले अध्यक्षको उम्मेदवार हुनु हुन्छ हाम्रा साथीहरूमा चैँ कोषाध्यक्ष अलिक सानो पद हो भने जस्तो परेको देखिन्छ हामी उहाँहरूलाई सम्झाउँदै छौ।’ ती पदाधिकारीले समाज टाइम्स सँग भने।
‘ प्रवीण गुरुङ,सोम सापकोटा र कृष्ण गिरी मध्येबाट एक जना हाम्रो टिमको कोषाध्यक्ष उम्मेदवार हुन्छन्।’ उनले भने।