क्यानको केन्द्रीय नेतृत्वमा पारसको इन्ट्री
काठमाडौं/ नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस खड्का निर्वाचित भएका छन् । कुल ८५ मत नै खसेको निर्वाचनमा पारसले ४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रशान्त बिक्रम मल्लले ३७ मत प्राप्त गरे । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस यसै पटक काठमाडौं जिल्लाको सदस्य हुँदै बागमति प्रदेश अध्यक्ष पनि भएका थिए ।
बागमति प्रदेशबाट प्रतिनिधित्व गर्दै केन्द्रमा पुगेका पारसले सचिवमा बाजी मारेका हुन् । विगतमा सफल कप्तानको छवी बनाएका पारसलाई नेपाली क्रिकेटको प्रशासनिक संयन्त्रलाई पनि चुस्तदुरुस्त बनाउने जिम्मेवारी आइपुगेको छ ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द नै निर्विरोध निर्वाचित हुँदा उपाध्यक्षमा रोशन सिंह पनि निर्विरोध निर्वाचित भए । यसैगरी कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्का क्यानको केन्द्रीय कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने जयन्ती भट्ट निर्विरोध निर्वाचित हुँदा ७ प्रदेशबाट एक एक जना केन्द्रीय सदस्य छानिने विधान अनुसार लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध हुँदा, कोशी, मधेश, बागमति, गण्डकी र सुदूरपश्चिम प्रदेशको केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको छ । यसैगरी खुल्ला ५ केन्द्रीय सदस्यका लागि पनि मतदान गर्नु पर्ने अवस्था आएको थियो ।
प्राप्त मतपरिणाम अनुसार सुदूरपश्चिम प्रदेशबाट विक्रम गिरी, गण्डकीबाट सुदीप शर्मा, बागमतीबाट दिवाकर घले, कोशीबाट अर्जुन पौडेल र मधेशबाट मधव कर्माचार्य निर्वाचित भएका छन् ।
मधेश प्रदेशमा दुवै जनाको ४२–४२ मत आएपछि गोला थुत्दा माधवले वाजी मारेका हुन् । यसैगरी ५ जना खुला केन्द्रीय सदस्यमा धिरेन्द्र सावद ५९, दुर्गाराज पाठक ५४, आयुस श्रेष्ठ ५१ र विरेन्द्र चन्द ३४ मत ल्याएर विजयी हुँदा ऋषी गौतम र करण महत्राले समान २६–२६ मत प्राप्त गरेपछि गोला प्रथाबाट करन विजयी भएका छन् ।
क्यानको नव विर्नाचित १७ सदस्यीय कार्यसमिति यस प्रकार छ ।
अध्यक्ष : चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का, खुल्ला केन्द्रीय सदस्यहरु धिरेन्द्र सावद, दुर्गाराज पाठक, आयुस श्रेष्ठ, विरेन्द्र चन्द र करण महत्रा ।
प्रदेश केन्द्रीय सदस्यमा
कोशी प्रदेशबाट अर्जुन पौडेल, मधेशबाट माधव कर्माचार्य, बागमतिबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा, लुम्बिनीबाट प्रदीप मजगैँया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिमबाट विक्रम विष्ट ।
महिला केन्द्रीय सदस्य : जयन्ती भट्ट