कार्यवहाक प्रधानमन्त्री खड्काले भने ‘क्रिकेटको विकासका लागि सरकार प्रतिवद्ध छ’
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारणसभा आजदेखि सुरु भएको छ । काठमाडौंमा सुरु भएको साधारणसभाको उद्घाटन कार्यवहाक प्रधानमन्त्री पूर्णवहादुर खड्काले उद्घाटन गरेका छन् । साधारण सभाको अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिम (१९९६) का सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उत्तम कुमार कर्माचार्य (तत्कालिन कप्तान), लेखबहादुर क्षेत्री, (एलबी) मनिषराज पाण्डे, बसन्त शाही ठकुरी, जगत बहादुर टमाटा, सन्जय गुरुङ, किरण शम्सेर राणा, राजु खड्का, पवन कुमार अग्रवाल, पुकार पन्त, मुशरफ इजाहर , विशाल गुप्ता र रितेश बराललाई कार्यक्रमका प्रमुख अतिथि रहेका कार्यबहाक प्रधानमन्त्री खड्काले सम्मान गरेका हुन् ।
यसैगरी साधारणसभा उद्घाटन गर्दै खड्काले अन्तराष्ट्रिय रंशालाहरुको निर्माण र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट मैदान, मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशाला लगायत पोखरा, भैरहवा स्थित खेल मैदानहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उहाले रंगशालाहरुको निर्माण एवं उक्त खेल मैदानहरु नियमित मर्मत संभारको लागि आवश्यक खेल मैदान सामाग्रीहरुको व्यवस्थापनका लािग सरकारबाट प्राथमिकताका साथ अग्रसरता लिइने उल्लेख गरे ।
त्यस्तै उहाले नेपालमा क्रिकेटको विकास, विस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अगाडि बढाउने विषयमा सरकार प्रतिवद्ध रहेको पनि बताए ।

त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानले बिभिन्न समस्याका बाबजुत नेपाल टी–२० लिग गर्न सफल भएको र त्यसैको अनुभवका आधारमा नेपालले लगातार टी–२० खेलहरुमा जीत हासिल गरेको बताए ।
साधारणसभा अन्तर्गत शनिबार नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुने क्यानले जनाएको छ । नयाँ नेतृत्वमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिष्पर्धा हुने बुझिएको छ । यसैगरी सचिवमा प्रशान्त मल्ल र पारस खड्काको उम्मेदवारी पर्ने सम्भावना रहेको छ । क्यानमा ८६ जना मतदाता रहेका छन् ।















