अमेरिकामा बस्ने नेपालीबारे मेरो धारणामा आमूल परिवर्तन भयो: प्रधानमन्त्री दाहाल
न्यु योर्क/ अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अमेरिकामा बस्ने नेपालीहरूका बारेमा आफ्नो धारण आमूल रूपमा परिवर्तन भएको बताएका छन्।
उनले १५ वर्ष अगाडि अमेरिका आउँदा यहाँ बस्ने नेपाली नकारात्मक माइन्डका हुँदा रहेछन भन्ने लागेको तर यस पटक त्यसमा परिवर्तन भएको बताए ।
नेपाली महावाणिज्य दूतावास, न्यु योर्कद्वारा बुधवार सीमित व्यक्तिहरू सँग आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री दाहालले नेपाली ड्यासपोरामा देशलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सकारात्मक धारणा पाएको बताए।
‘अमेरिकामा बसेर नेपालको विकासमा कुन मोडेलबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने विभिन्न क्षेत्रबाट तपाईँहरूले गरिरहेको प्रयास सराहनीय छ, म नेपाल सरकारको तर्फबाट तपाईँहरूको कामको प्रशंसा गर्न चाहन्छु।’ सम्बोधनको क्रममा दाहालले भने।
‘हुन त पहिलो चोटि म प्रधानमन्त्रीको रूपमा आउँदा नेपाली ड्यासपोरा सँग अन्तरक्रिया गर्ने क्रममा मेरो धारणा अमेरिकामा बस्ने नेपाली प्रति अलि बढी नकारात्मक माइन्ड भएका मान्छेहरू बढी बस्दा रहेछन् नेपाली भन्ने बनेको थियो ।’ उनले भने।
प्रधानमन्त्री दाहालले त्यो बेला अमेरिकामा बस्ने नेपालीहरू त आफूलाई अमेरिका ठान्दा रहेछन्, नेपाललाई हेप्दा रहेछन् भने जस्तो इम्प्रेसन परेको तर अब त्यो फेरिएको बताए।
‘मैले बिचमा विभिन्न माध्यमबाट थाहा पाएको थिए अब परिस्थिति फेरिँदै गएको छ अब नेपालीहरूले नेपालको बारेमा नकारात्मक भन्दा पनि सकारात्मक ढङ्गले कसरी मद्दत गर्न सकिएला भन्ने मैले धेर थोरै त सुनेको थिए।’ प्रधानमन्त्री दाहालले भने, ‘आज प्रत्यक्ष रूपमा तपाईँहरूले विभिन्न पेसा क्षेत्रबाट नेपाललाई सहयोग गर्न चाहेको स्प्रिट हेर्दा अब मेरो धारणा आमुल परिवर्तन भएको पाए।’
अघिल्लो दिन सम्म आफूलाई कस्ता खालाका मान्छे आउने हुन भन्ने भन्ने लगेको पनि उनले खुलासा गरे।
‘हुन त हिजो पनि विष्णु जी (बिष्णु प्रसाद गौतम, कार्यवाहक महावाणिज्यदूत) लाई कस्ता खालका मान्छेहरू आउने हुन त्यही नेगेटिभ आउने हुनकी प्रेसर मात्र बढाउने भन्न थियो तर आज तपाईँहरूको कुरा सुन्दै जाँदा थकाइ मेटिँदै गयो।’ प्रधानमन्त्रीले भने।
उनले विदेशमा बस्ने नेपालीको सम्बोधन नगरी नेपाल बनाउन असम्भव रहेको बताए।
‘विदेशमा बस्ने लाखौँ नेपालीको सम्बोधन नगरीकन उनीहरूको आत्मसम्मान,उनीहरूको क्षमता, उनीहरूको प्रतिभालाई सम्बोधन नगरी नेपाल बनाउन अव सम्भव छैन।’ प्रधानमन्त्रीले अगाडि भने, ‘किनभने यति ठुलो सङ्ख्यामा नेपाली अब विदेशमा छन्, विभिन्न क्षेत्रमा काम गरेका छन् उनीहरूलाई सम्बोधन नगरी नेपाल बनाउँछौ भन्यौ भने त्यो मनोगत सब्जेप्टिक कुरा हुन्छ।’
उनले विदेशमा बस्ने नेपालीका बारेमा अहिलेको लिडरसिप क्लियर रहेको दाबी गरे। ‘चाहे नागरिकताको कुरामा होस, चाहे मतदानको कुरामा, चाहे सामाजिक सुरक्षा कोषमा आवद्द गर्ने कुरामा होस, चाहे यहाँबाट बढी लगानी बढाउने विषयमा अहिले सरकार गम्भीर ढङ्गले लागेको छ। यसमा तपाईँहरू विश्वस्त हुन सक्नु हुन्छ पहिलाको जस्तो कुरा होइन।’
प्रधानमन्त्री दाहालले आफू अमेरिकाबाट सोझै चीन जाने र त्यहाँ कृषिको विकास, उत्तरी नाका कसरी खोल्ने भन्ने बारेमा छलफल गर्ने जानकारी दिए।
संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल अमेरिका आएका हुन्। दाहालले बिहिवार महासभालाई सम्बोधन गर्ने छन्।
फोटो: प्रधानमन्त्री दाहालकी पुत्री गङ्गा दाहालको फेसबुकबाट