संविधान दिवस विशेष : अहिलेका दलमा परिर्वतनको नेतृत्व गर्ने क्षमता देखिएन
काठमाडौं । पूर्व सभामुख, वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गानाले, संविधान बनेको ८ वर्ष भएपनि, शान्ति प्रक्रियाका कतिपय काम पूरा नभएको प्रति असन्तुष्टि जनाएका छन् । संविधान दिवसको सन्र्दभमा कुरा गर्दै उनले जन आन्दोलनको उपलब्धी शान्ति प्रक्रिया समेत भएको भन्दै त्यसले पूर्णता नपाउनु दुखद भएको बताए ।
‘युद्ध सकियो हिंसा सकियो माओवादी शान्ति प्रकृयामा आयो । तर कति काम अझै पनि बाँकी छन् । शान्ति प्रक्रिया सकिएको छैन् । संक्रमणकालीन न्यायको काम बाँकी छ । युद्ध पिडितलाई कसैले हेरेको छैन् । १७ वर्ष भईसक्यो । अहिले प्रधानमन्त्री बाहिर जानुभएको छ । अन्तराष्ट्रिय जगतले त्यही सोध्छ । यहाँ ऐन एउटा सहमतीमा बन्न सकेको छैन उहाँले बाहिर के भन्ने होला । ’
उनले जन आन्दोलन र संविधान सभाको उद्देश्य नै तत्कालिन द्वन्द्व समाधान गर्नेमा केन्द्रित भएकाले केही हदसम्म आफूहरु सफल भएको जिकिर गरे ।
‘हिंसा हत्या रोकिनु पर्छ । माओवादी युद्ध रोकिनु पर्छ भन्ने मै हामी केन्द्रीत थियौं । त्यही नै हाम्रो पहिलो लक्ष्य थियो । युद्ध रोक्ने शिलशिलामा नै संविधानसभाको प्रस्ताव आएको हो । संविधान सभा भयो भने माओवादीहरु शान्ति प्रकृयामा आउछन् भन्ने एउटा सहमती भएको हो ।’
उनले संविधान सभा र संविधानका एजेन्डामा पूर्णरुपमा दलहरु हावी भएको बताए।
उनले भने ‘त्यो संविधान सभा कसरी गठन हुन्छ? त्यसको एजेण्डा के हुन्छ ? अन्तरिम संविधानबाटै ठुला ठुला निर्णय हुन्छ की हुदैन ? पूनस्थापित संसदमा पनि छलफल हुन्छ की हुँदैन् ? यो त हामीलाई थाहा थिएन् । त्यो त सबै तीन दलले गरे । त्यो त नागरिक समाजलाई सम्पूर्ण बाहेक गरे । यथार्थ यो हो । ’
उनले यो २०६३ को आन्दोलनमा सहभागि भएर सक्रिय भूमिका खेलेकोमा कुनै ग्लानी नभएको प्रष्ट पारे ।
‘अफसोस छैन ग्रानी छैन तर यो संविधान सभाले बनाएको संविधानले जे गर्ला भनेको थ्यो त्यो गर्न नसकेको आम धारणा छ ।’
(ढुङ्गानासंग गरिएको कुराकानी)