स्वच्छ निर्वाचन गराउने अभियानमा केन्द्रीत छु : अध्यक्ष डा. केसी
|
Getting your Trinity Audio player ready...
|
टोकियो । गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले आफू निष्पक्ष निर्वाचन गराउने अभियानमा रहेको बताएका छन् । विगतमा १० औँ महाधिवेशनमा जापानको कारणले निर्वाचनमा समस्या आएको बताउँदै अहिले शुद्धीकरण अभियानबाट समस्या समाधान गरेको पनि केसीले बताउँदै यस पटक सबै देशमा स्वच्छ निर्वाचन भएको बताए।
गैर आवासीय नेपाली सङ्घ जापानले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जापान नेपाली कामदार र विद्यार्थी दुवै आएर नेपाली बसोबास गर्ने देशको रूपमा रहेको बताए।
‘जापानमा नेपाली स्थापित व्यवसायी पनि छन्। विद्यार्थी र रोजगारीको लागि आएका नेपाली छन्,’ अध्यक्ष केसीले भने,‘एनआरएनएको चरित्र जापानले बोक्छ। अभियानको लागि पनि जापान महत्त्वपूर्ण छ।’
नेपालबाट सुरुको ६ महिनाको लागि पैसा ल्याए पनि त्यसपछि विद्यार्थीले रोजगारीमा आएका जस्तै पैसा कमाउन थाल्छन्। विद्यार्थीलाई समेट्न गैर आवासीय नेपाली ऐनलाई समयसापेक्ष परिमार्जन गर्नुपर्छ।
‘ऐनमा नागरिकता पाए सँगै आर्थिक सामाजिक र सांस्कृतिक अधिकार के के हुन् स्पष्ट पार्नुपर्छ,’ केसीले भने,‘अहिले एनआरएनएलाई काठमाडौँमा एक रोपनी, तराईमा ४–५ कट्ठा र पहाडमा ५ रोपनीभन्दा जग्गा खरिद गर्न पाइँदैन। यसलाई खुलाउनु पर्छ।’
उनले एनआरएनएको नागरिकता पाउनेलाई नेपालमा भोट हाल्ने र चुनाव उठ्ने बाहेक सबै अधिकार प्रदान गर्नुपर्ने बताए।
एनआरएनए स्थापना २००३ साल देखी नै विदेशमा कमाएको केही प्रतिशत नेपालमा लगानी होस् भन्ने चाहेको बताए। नेपालमा हुर्कँदा आफ्ना बाबुआमाको मात्रै होइन राज्यले पनि लगानी गरेको बताउँदै विदेशमा कमाएको केही न केही नेपालमा लगानी गर्नु पर्ने अध्यक्ष केसी बताउँछन्।
‘गैर आवासीय नेपालीको लगानी नेपालमा लैजाने र ऐन कानुनलाई सहजता बनाउने भूमिका एनआरएनएको हो,’ केसीले भने,‘नेपाली नागरिकता बोकेर विदेशमा लगानी गर्न पाइँदैन। त्यो अवैधानिक हो तर कसले कति कमाउँछ नेपालले चिन्दैन।’
नेपालीले नेपालमा लगानी गर्ने र विदेशमा कमाएको रकम विदेशमा पनि लगानी गर्न सक्ने कानुन बनाउन लबिङ गरिरहेको बताए।
नेपालमा वैधानिक रूपमा लगानी गर्नेले विदेशमा वैधानिक रूपमा लगानी गर्न सक्ने कानुन बनाउनु पर्छ।
वैदेशिक रोजगारीबाट वार्षिक १३ खर्ब रुपैयाँ नेपाल पठाउँदै आएको तर सबै विदेशी वस्तु खरिदका लागि नै बाहिरिने बताए।
‘विदेशबाट जति रकम हामीले नेपालमा पठाएका छौँ। नेपालमा नथिग्रीकन विदेशमै फिर्ता भएको छ,’ डा. केसीले भने,‘नेपालले २ खर्ब रुपैयाँको वस्तु पनि निर्यात गर्दैन। रेमिट्यान्सको भरमा अर्थतन्त्र चल्छ।’
विदेशमा करिब ८० लाख नेपाली रहेका छन्। जसले वार्षिक ६० खर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान छ। १३ खर्ब देखीनेगरी नेपालमा भित्रन्छ। बाँकी केही हुन्डीबाट जान्छ भने धेरै विदेशमै लगानी भएको छ।
कुनै पनि ठाउँमा लगानी गर्नको लागि विश्वासको वातावरण हुनुपर्छ नभए कसैले गर्दैन। लगानी गरेपछि डुब्दैन भन्ने आशा हुनुपर्छ। त्यसको प्रतिफल आउँछ भन्ने विश्वासपछि मात्रै वैदेशिक लगानी नेपालमा भित्रन्छ। वैदेशिक लगानी भित्राउन लगानीको वातावरण सम्बन्धी रेटिङ बनाउनु पर्छ। सरकारले अहिलेसम्म रेटिङ गरेकै छैन।
‘विदेशी लगानी आउन नसक्ने भएकाले गैर आवासीय नेपाली र आफ्ना चिनजानका व्यवसायीलाई लगानी गर्न ल्याउनुपर्छ,’ केसीले भने,‘एनआरएनएले पुलको रूपमा काम गर्नुपर्छ।’
एनआरएनएले लगानी गरी नेपालमा परिवर्तन गर्न सक्ने शिक्षा क्षेत्र हो। नेपालका विद्यार्थीलाई अध्ययनको लागि विदेशी जानु परेको छ। तर राम्रो कलेज स्थापना भए अध्ययनका लागि बिदेसिनु पर्दैन। अस्ट्रेलियाको वैदेशिक आम्दानी शिक्षाबाट रहेको छ। त्यहाँ नेपाली तेस्रो स्थानमा रहेका छन्। नेपालमै मास्टर्स डिग्रीसम्म अध्यापन गराउनको लागि एनआरएनएले लगानी गर्न सक्छन्।
दोस्रो पर्यटन क्षेत्र हो। नेपाली मूलका १५ देखी २० लाखले विदेशको पासपोर्ट लिइसकेका छन्। उनीहरू पर्यटकको रूपमा जाँदा पनि नेपालको आयस्रोत बढ्ने देखिन्छ। पर्यटक जानका लागि होटेल, रेस्टुरेन्ट, सडक पूर्वाधार आवश्यक पर्छ। त्यसको निर्माणमा एनआरएनएले ठुलो भूमिका खेल्न सक्छ।
‘एनआरएनले लगानी नगरेको नेपालमा कुनै क्षेत्र नै छैन,’ डा. केसी भने,‘तर त्यो बाहिर आउन सकेको छैन। विदेशको पासपोर्ट भए पनि नेपाली नागरिकताबाटै लगानी गर्दा कति लगानी छ। स्पष्ट देखिँदैन।’
नेपालमा लगानी गरेको ठाउँ देखाउन पनि सङ्कोच गरिरहेको अवस्था रहेको छ। गैर आवासीय नेपाली नागरिकता पाएसँगै त्यो सङ्कोच हट्ने केसीले बताउँछन्।
‘नागरिकताको नियमावली बनाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृत दिइसकेको छ। मन्त्रिपरिषद्को समितिमा पुगेको छ,’ केसीले भने,‘काठमाडौँमा हुने ११ अधिवेशनमा नागरिकता वितरणबाट सुरु गछौं।’
नागरिकताले वैधानिक लगानी र खुल्ला रूपमा लगानी गर्ने वातावरण खुल्छ। ठुलो लगानी गर्नेको मात्रै नभई साना लगानी गर्न सक्ने ठुलो जमात रहेको छ।
‘साना लगानी कर्तालाई नेपालमा समय दिन अप्ठेरो भइरहेको छ,’ उनले भने,‘२००७ बाट सबैले लगानी गर्न सक्ने गरी १० अर्बको कम्पनी खोल्न सुरु गरिएको हो। आर्थिक नियमावली नसच्चिँदा त्यो लगानी गर्न सक्ने अवस्था भएन।’
सरकारले वैदेशिक लगानी ल्याउँदा सुरुमा ५ करोड रुपैयाँ राखेको थियो। त्यसलाई घटाएर २ करोडमा झारेको छ। तर सामूहिक रूपमा १–२ लाख रुपैयाँ लगानी गर्न सक्ने अवस्था नभएकाले त्यो सच्चाउन २ वर्ष लागेको बताए।
१० अर्ब रुपैयाँको कम्पनीका लागि २० वर्षको अवसरमा सुरु हुने जानकारी दिए।
एनआरएनएको अर्को लक्ष्य वैदेशिक रोजगारीमा अप्ठेरो परेकालाई सहजीकरण गर्न भएको बताए। गैर आवासीय नेपाली ऐन र वैदेशिक रोजगार ऐन एनआरएनएको माग अनुसार एकै दिन आएका हुन्। सुरुमा वैदेशिक रोजगारीमा आउनेको मृत्यु भएमा पैसा उठाएर पठाउने गर्थ्यौ अहिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा आउनेको १० लाखसम्मको बिमा हुन्छ। यसकोलागि गैर आवासीय नेपाली सङ्घले भूमिका खेलेको बताए।
अहिले सामाजिक सुरक्षाको विषय सबैभन्दा महत्त्वपूर्ण रहेको बताए। २०११ बाट सुरु गरेको सामाजिक सुरक्षा अभियान वैदेशिक रोजगारीमा आएका जोडिन सक्ने भएका छन्। अहिले कामदारको मात्रै रकम जम्मा हुने व्यवस्था रहेको छ। अब विदेशी रोजगारदाताले आफूले काम लगाउँदा केही प्रतिशत पेन्सन फन्डमा जम्मा हुने व्यवस्था गर्नुपर्छ भन्ने विषयमा पहल भइरहेको बताए।
एनआरएनए स्थापनाको २० वर्षमा ८७ मुलुकमा पुगेको उल्लेख गर्दै ११० वटा देशमा विस्तार गर्ने ठाउँ रहेको बताए। एनआरएनएलाई भावनाको संस्था बनायौँ अब विधि र विधानले जोड्नुपर्छ। ७९ देशमा अधिवेशन भयो विधि र विधान अनुसार चलेको छ।
‘एनआरएनएको नेतृत्वमा आउन चाहनेका लागि निष्पक्ष रूपमा निर्वाचन गराउनुपर्ने दायित्व हाम्रो हो,’ उनले भने,‘कुनै व्यक्तिलाई हराउन वा जिताउन कुनै पार्टी वा सरकार लाग्यो भन्दैमा निर्वाचन रोकिने छैन।’ उनले १९ अक्टोबरमा निर्वाचन गरी एउटा उदाहरण सेट गर्ने बताए।
एनआरएनए जापानका अध्यक्ष नवीन निउरेको अध्यक्षमा भएको कार्यक्रममा सङ्घका केन्द्रीय पदाधिकारी तथा एनसीसीका सदस्यहरूले आआफ्नो भनाई राखेका थिए ।












