क्रिकेटर सन्दीपको मुद्दामा जाहेरी कर्ताको जन्म दर्ता र बसाइसराइको अभिलेख मागियो,अर्को पेशी २६ गते
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दामा अदालतले जाहेरीकर्ताको जन्म दर्ता र बसाइसराइका थप अभिलेख मागेको छ।
बिहीबार बसेको न्यायाधीश शकुन्तला कार्कीको इजलासले जाहेरीकर्ता गौशाला २६ को जन्म दर्ता र बसाइसराइका थप अभिलेख मगाएको हो ।
सन्दीपको तर्फबाट बहस गरेका वकिल सरोज घिमिरेले गौशाला २६ को जन्म मिति विवाद किनारा लगाउनुपर्नेमा जोड दिएका थिए । उनले गौशाला २६ को पुरानो ठेगाना काठमाडौँको शंकरापुर गाविसको सम्बन्धित वडाबाट जन्म मिति र बसाइसराइको ढड्डा मगाएर हेर्न न्यायाधीशसमक्ष माग गरे ।
यसअघि अदालतले गौशाला २६ हालको ठेगाना नुवाकोटको तादी गाउँपालिकाबाट कागजातहरू मगाएको थियो । ती कागजातहरूमा उल्लेखित विवरण परस्पर विरोधी थिए । गौशाला २६ को मात्र नभएर उनकी आमाको जन्म मिति पनि फरक फरक पाएपछि मुद्दा उल्झनमा परिरहेको छ ।
सन्दीपका वकिलले शंकरापुरको वडामा निजको वास्तविक जन्म मिति हुन सक्ने भएकाले ढड्डा मगाउन सुझाएका हुन् । त्यसलाई स्विकार्दै न्यायाधीश कार्कीले आदेश गरेकी छन् ।
मुद्दाको अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।














