पार्टीले रोकेपछि, कांग्रेसमा रूपान्तरण पक्षद्वारा ‘राष्ट्रव्यापी अभियान’ को घोषणा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । नेपाली कांग्रेसले सङ्गठन सुदृढीकरणका लागि गर्ने भनेको ‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान’ स्थगित गरेपछि रूपान्तरण पक्षले देशैभर प्रतिनिधि सभा क्षेत्र केन्द्रित कार्यक्रम घोषणा गरेको छ ।
गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको कांग्रेसले तत्कालका लागि अभियान स्थगित गरेपछि रूपान्तरण पक्षधरले काठमाडौँमा बैठक गरेर निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रव्यापी अभियान गर्ने निर्णय गरेका हुन्।
‘पार्टीले आधिकारिक रूपमा कार्यक्रम स्थगित गर्दैमा पार्टीका अन्य कार्यकर्ता सुतेर बस्नु पर्छ भन्ने होइन ’ नेता भूपेन्द्र जङ्ग शाहीले भने, ‘ पार्टी सुदृढीकरणका लागि अभियान सञ्चालन गर्न लागिएको हो ।’
पार्टीलाई थप गतिशील बनाएर जनताको पार्टीका रूपान्तरण गर्नका लागि १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागिएको उनले बताए । ‘यो कुनै पक्ष वा विपक्षको सवाल होइन पार्टी निर्माणको अभियान हो । हामी पार्टीलाई गतिशील बनाउन चाहान्छौं । ’
उनले कांग्रेसको रुपान्तरण अभियानबाट प्रभावित भएर अन्य पार्टीले समेत सोही नाममा अभियान थालेको भन्दै आफूहरूले गरेको काम प्रभावकारी भएको बताए ।
त्यस्तै, अर्का नेता जगदिशनरसिंह केसीले, पार्टीले पार्टीको आन्तरिक सुदृढीकरण अभियान कुनै पनि बहानामा नरोकिने बताए ।
भदौ २४ गते बिपी जन्म जयन्तीदेखि कात्तिक २४ गते गणेशमानसिंह जन्म जयन्तीसम्म रूपान्तरण अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।
‘यही भदौ २४ गतेदेखि कात्तिक २४ गतेसम्म ७७ जिल्ला, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रूपान्तरण अभियान लैजाने निर्णय भएको छ,’ उनले भने ।
आफूहरूले थालेको अभियानले पार्टीले गर्ने आधिकारिक निर्णयलाई सहयोग नै पुग्ने उनको दाबी छ । यदि पार्टीले आधिकारिक रूपमा अभियान चलाए आँफूहरु त्यो अभियानमा सक्रिय सहभागी हुने उनको भनाई छ ।
यसबिचमा कार्यकर्ताहरू र जनतासँग पनि संवाद गरिने र प्राप्त भएका सुझाव नेतृत्वलाई बुझाउनले उनले बताए।
सभापति देउवासहित अहिलेका पदाधिकारीहरू विधि र विधानअनुसार नचलेको उनको आरोप छ ।












