कोशी प्रदेश नामकरणविरुद्ध, ललितपुरमा ५ सय च्याब्रुङसहित किरात समुदायको प्रदर्शन
काठमाडौँ । कोशी प्रदेश नामकरणविरुद्ध, किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रदर्शन गरेका छन् ।
किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५ सय वटा च्याब्रुङसहित ललितपुरको जावलाखेलमा प्रदर्शन गरेका हुन् ।
आज कोशी प्रदेशको नाम खारेज गर ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान÷किरात कायम गर भन्ने मूल नाराका साथ जावलाखेल चोकबाट ललितपुर चुम्लुङ हिमसम्म र्याली निकालेका हुन् ।
उक्त आन्दोलनामा आस बहादुर थग्लुङ्ले नेपाल बहु जाती, बहुभाषिक र समानता भएको देश भनेर राष्ट्रिय गानमा मात्रै सीमित भएको तर व्यवहारमा नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए ।
उनले मौलिक हिसाबले जनजातिहरूको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाइदिएको भन्दै अधिकार पनि निश्चित हुनुपर्ने बताए ।
उनले भने, ‘नेपाल भनेको बहु जाती, बहुभाषिक भएको देश हो, यो कुरा राष्ट्रिय गानमा आयो तर व्यवहारमा भने भएन, हाम्रो अधिकार हाम्रो अधिकार पनि निश्चित होस् । संविधानमा नै हाम्रो अधिकार खोसिएको छ, जुन मौलिक हिसाबले जनजातिहरूको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाइदियो हामीले पहिला नै गाई राष्ट्रिय जनावर नराखौँ भनेर भनेका थियौ ।’
यस्तै, अर्को आन्दोलनमा सहभागी अऐन्द्र कुमार आङ्बोले कोशी प्रदेशको नाम ठिक नभएको भन्दै किरात लिम्बुवान हुनुपर्ने माग गरेका छन् ।