महिला विश्वकप : एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी २० विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले भुटानमाथि ३ विकेटको जित निकालेको हो ।
जितसँगै नेपाल सेमिफाइनल नजिक पुग्न सफल भएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहरबाइनलाई १० विकेटले हराएको थियो ।
आज भुटानले दिएको ४० रनको सामान्य लक्ष्य नेपालले १३ दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न भने सकेनन् ।
भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो ।
भुटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिइन भने कविता कुँवर, खुसी डङ्गोल र रुबिना क्षेत्रीले समान एक/एक विकेट लिए । नेपालले अब सोमबार भोलि कतारसँग खेल्नेछ ।