समाजका अगुवा सँग पनि बीसीएचले गर्यो अन्तर्क्रिया

ह्यारिसबर्ग, पेन्सिलभेनिया / भुटानी कम्युनिटी ह्यारिसबर्ग (बीसीएच)ले आफ्नो समुदायका चुनौतीहरूको समाधानका लागि समाजका अगुवा सँग शुक्रवार छलफल गरेको छ।
अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग र त्यस वरपर बसोबास गर्ने नेपाली भाषी भुटानीहरूको सङ्ख्या सँगै समस्याहरू पनि बढेको गुनासो आए पछि बीसीएचले समाधानका लागि पहल सुरु गरेको हो।
सामाजिककरण र कानुन कार्यान्वयनमा नेपाली भाषी भुटानी समुदायमा चुनौती बढ्दै गएको स्थानीय प्रशासनले जनाउँदै आएको छ।
बीसीएचले यस अगाडि स्थानीय प्रशासन र प्रहरी प्रमुखहरू सँग छलफल गरेको हो। दुवै तर्फको राय लिएर समाधानका उपाय खोजिने बीसीएचका पदाधिकारीले बताउँदै आएका छन्।

यसै क्रममा शुक्रवारको छलफलमा दर्जन भन्दा बढी समाजका अगुवाहरूले भाग लिएका थिए। विशेष गरी मादक पदार्थ सेवन गरेर सवारी चलाउने, घरमा भोज भतेर गर्दा छिमेकीलाई असर पर्ने गरी होहल्ला गर्ने, जथाभाबी पार्किङ गर्ने, घरेलु हिंसा, बन्दुक हिंसा, ठुलो सङ्ख्यामा मलामी जाने, पोसाकमा ध्यान नदिने, होहल्ला गर्ने क्रम बढ्दै गएको जनाइएको छ।
यो समुदायबाट पछिल्ला दिनहरूमा विभिन्न बहानामा पक्राउ पर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको र स्थानीय सरकारलाई कानुन कार्यान्वयनमा सकस भएको अधिकारीले बताउँदै आएका छन्।

शुक्रवारको छलफलको सुरुवातमा बीसीएचका अध्यक्ष तिलक निरौलाले समुदायको सङ्ख्या सँगै बढेका चुनौतीहरूका बारेमा समाजका अगुवालाई जानकारी गराएका थिए।
त्यस पछि प्रतिष्ठित जनस्वास्थ्य वैज्ञानिक तथा बीसीएचका कार्यकारी निर्देशक एमपीएच तेज मिश्रले सहभागी सँग समस्या समाधानका लागि राय मागेका थिए।

छलफलमा समस्या समाधानका लागि विभिन्न विकल्पहरू आएको कार्यकारी निर्देशक मिश्रले समाज टाइम्सलाई बताए।
उनले सहभागी वक्ताहरूले समस्या समाधानका लागि समुदायका तल्लो तह सम्म जनचेतना पुर्याउनु पर्ने धारणा राखेको बताए।
“क्रियाशील विभिन्न जातीय, धार्मिक तथा अन्य समुदायका प्रतिनिधिलाई पनि सहभागी गराएर एउटा समूह नै गठन गर्ने तीबाट सूचना सम्प्रेषण गर्ने भन्ने राय आएको छ।’ मिश्रले समाज टाइम्स सँग भने,”त्यो भयो भने समस्याको समाधान तल्लो तह सम्म पुर्याउन सजिलो हुन्छ।’
बीसीएचले अर्को साता पनि छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
र यो पनि..
समाधानका लागि बीसीएच पदाधिकारी र स्थानीय अधिकारी बिच छलफल सुरु, (भिडियो सहित)