एनआरएनए आइसीसीको महासचिवमा गंगाधर गौतमको उम्मेदवारी

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका/ बेल्जियम निवासी गंगाधर गौतमले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। आइसीसीको निर्वाचन अक्टोबरमा हुँदै छ।
सन् २००६ देखि एनआरएन अभियानमा सक्रिय गौतम एनआरएनए बेल्जियमको अध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा सचिव पदमा सक्रिय छन्।
समाज टाइम्ससँगको कुराकानीमा गौतमले आफू कसैको विरुद्ध भन्दा पनि संस्थामा परिवर्तनको लागि अगाडी बढेको बताएका छन्। आफूले विगतमा विधान समितिमा बसेर विधानको परिमार्जनमा महत्त्वपूर्ण भूमिका खेलेको, फुटेको एनआरएनलाई एक बनाउन अहोरात्र खटेको र एनआरएनमा रहेका विकृतिहरू माथि निरन्तर दबाब सिर्जना गर्दै आइरहेको आफ्नो विगत रहेको उल्लेख गरेका छन्।
२० वर्ष देखि संस्था सञ्चालन र करिब सयको सङ्ख्यामा एनसीसीहरु निर्माण भए पनि यो अझै आन्दोलनकै रूपमा अघि बढेको र संस्थागत हुन नसकेको भन्दै उनले आफू यसलाई संस्था बनाउन महासचिवमा उम्मेदवारी दिएको विचार गौतमले व्यक्त गरेका छन्।
एक पटकको नेपाली सधैको लागि नेपाली भन्ने एनआरएनको मूल नाराको साथमा गौतमले वंशजको नागरिकताको ग्यारेन्टीलाई जोड दिँदै युवा, महिला र श्रमजीवी नेपालीहरू प्रति मैत्रीपूर्ण संस्था निर्माणमा जोड दिएका छन्।
श्रमजीवी नेपाली मैत्री भन्ने नारा सहित बर्तमानमा करोडपति र अरबपतिहरूको वरिपरि घुमिरहेको एनआरएनलाई समग्र नेपालीहरूको पहुँचमा ल्याउन पहल गर्ने महत्त्वपूर्ण विचार अघि सारेका छन्।