अमेरिकामा सम्पन्न सातौँ कालु सिंह तामाङ स्मृति भेट्रान कप फुटबलको उपाधि एफसी रिभाइबललाई

ह्यारिसबर्ग, / सातौँ कालु सिंह तामाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि एफसी रिभाइबलले जितेको छ।
पेन्सिलभेनियाको ह्यारिसबर्ग स्थित प्लेजेन्ट पार्कको मैदानमा आइतबार भएको फाइनलमा ह्यारिसबर्ग भेट्रान्सलाई ट्राई ब्रेकरमा ५-४ ले हराएउदै रिभाइबलले उपाधि जितेको हो।
निर्धारित समयमा दुवै टिमबाट गोल नभए पछि खेल सोझै ट्राई ब्रेकरमा पुगेको थियो। ह्यारिसबर्ग भेट्रान्सका कप्तान महेश थुलुङ्गको प्रहार बाहिरिए पछि रिभाइबल उपाधिको हकदार बन्यो।
टिम ५-४ ले पछाडि रहेको अवस्थामा थुलुङ्ग पेनाल्टी प्रहारमा आएका थिए। उनको प्रहार कर्नर नजिकैबाट आकासिएको थियो। त्यसो त उनी नियमित खेलकै क्रममा घाइते भएका थिए तर पनि आफै पेनाल्टी प्रहार गर्न आए।

थुलुङ्गले पेनाल्टी हान्नु अगाडि उनको टिमका देवान क्षेत्री, डिल्ली चौलागाँई, सोनु सुवेदी र भीम आचार्यले भने प्राप्त अवसरको सदुपयोग गरेका थिए।
यस्तै सुभाष गुरुङ,चन्द्र राई, मित्र घले, सन्तोष शर्मा र झलक अधिकारी सबै जनाको प्रहार गोलमा परिणत हुँदा ह्यारिसबर्ग भेट्रान्सलाई एकै प्रतियोगितामा दोस्रो पटक रिभाइबलका हराउन सफल भयो।
लिग नक नकआउटको आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा पनि एफसी रिभाइबलले ह्यारिसबर्ग भेट्रान्सलाई हराएको थियो।

भुटानी राष्ट्रिय फुटबल खेलाडी कालु सिंह तामाङको स्मृतिमा आयोजित दुई दिने प्रतियोगितामा सात टिमले भाग लिएका थिए।
प्रतियोगिताको पहिलो दिन शनिवार लिग चरणका खेल भएका थिए। आइतबार नै भएको सेमिफाइनलमा एफसी रिभाइबलले पिच स्टेट जर्जियालाई ४-३ गोलले हराएको थियो। रिभाइबलका चन्द्र राईले ह्याट्रिक गरेको खेलमा एक गोल भने हुलमुलमा (आत्मघाती) उपहार पाएको थियो।
अर्जुन खपाङ्गेले दुई गोलले प्रेरित जर्जियाले पनि एक गोल उपहार पाएको पनि उपाधि यात्रा कामय राख्न सकेन।
अर्को सेमिफाइनलमा ह्यारिसबर्ग भेट्रान्सले सिनसिनीटी राईनोलाई एक शून्यले हराएको थियो। प्रतिस्पर्धात्मक खेलमा सोनु सुवेदीको एक मात्र गोल निर्णायक बनेको थियो।
प्रतियोगिताका विजेता तथा उप विजेता टिमलाई पूर्व खेलाडी स्वर्गीय कालु सिंह तामाङका पिता सेतु तामाङ,पूर्व खेलाडी अमल थुलुङ्ग, सामाजिक अभियन्ता तथा सिनसिराईनो भेट्रान्स टिमका कप्तान प्रकाश शर्मा गर्तौलाले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताको विजेता टिमले पाँच र उप विजेता टिमले तीन हजार अमेरिकी डलर नगद सहित ट्रफि पाए।
यसै गरी प्रतियोगितामा सर्वाधिक गोल कर्ताको उपाधि रिभाइबलका चन्द्र राईले पाए। उनले कुल ६ गोल गरेका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी ह्यारिसबर्ग भेट्रान्सका सोम सुवेदी घोषित भए। यस्तै अनुशासित टिमको उपाधि कोलम्बस एफसीले पायो।
पुरस्कार वितरण समारोहमा लाइफ टाइम्स एच्छिमेन्ट अवार्ड भक्तिमान राईलाई प्रदान गरिएको थियो। आयोजक बिर्ख गुरुङका अनुसार भक्तिमान राई कालु सिंह तामाङका सहयात्री हुन्। भक्तमानले १९८४ मा काठमाडौँमा भएको साफ गेममा भुटानको राष्ट्रिय फुटबल टिमबाट खेलेका थिए। उनी अहिले अमेरिकाको सिनसियाटीमा बस्ने गर्दछन्।
यस्तै वर्षको सर्वाधिक सम्मानित तथा महत्त्वपूर्ण खेलाडी अवार्ड खड्क कार्की र भक्त सुब्बालाई प्रदान गरिएको थियो। भेट्ट्रान्सहरु मध्येबाट यो सम्मान दिइएको आयोजकको भनाई छ। कार्की अमेरिकाको नर्थ क्यारोलाइना र सुब्बा बेल्जियममा बस्दै आएका छन्।
पुरस्कार वितरण समारोहमा कालु सिंहका पिता सेतु तामाङलाई मायाको चिनो प्रदान गरिएको थियो।
को हुन कालु सिंह तामाङ
सङ्गीतकार थुलुङ्गका अनुसार कालु सिंह तामाङ भुटानी राष्ट्रिय फुटबल टिमका सदस्य हुन्। उनले सन् १९८५ देखि १९९२ सम्म ड्रुक ११ बाट खेलेका थिए। सन् १९५४ मा भुटानमा जन्मिएका तामाङको निधन सन् १९९९ मा नेपाल स्थित शरणार्थी शिविरमा भएको थियो।
तामाङका परिवार र साथीहरूले सन् २०१७ देखि उनको स्मृतिमा भेट्रान्स प्रतियोगिता आयोजना गर्दै आएका हुन्। तामाङका बहिनी ज्वाइँ कुल गुरुङका अनुसार प्रतियोगिताको पहिलो संस्करण नर्थ क्यारोलियनाबाट सुरु भएको हो।
अर्को वर्ष देखि अझ बृहत् रूपमा आयोजना गर्ने लक्ष्य राखिएको गुरुङले समाज टाइम्स सँगको कुराकानीमा बताए।
यसै गरी आयोजक मध्येका एक बिर्ख गुरुङले कालु सिंह तामाङले भुटानी फुटबलका लागि गरेको योगदानको कदर स्वरूप प्रतियोगिता आयोजना गरिएको बताए।
उनले आफ्नो समाजका भेट्रान्सहरुलाई शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त राख्नलागि पनि प्रतियोगिता सहयोगी हुँदै आएको बताए।
‘यो प्रतियोगिताले कालु सिंह दाई लाई सम्झना गर्नुका साथै अमेरिकामा विभिन्न राज्यमा छरिएका हामी साथीभाइ बिच भेटघाटको अवसर भएको छ। अब अर्को वर्ष देखि हामी संस्थागत रूपमा नै प्रतियोगिता गर्छौ।’ गुरुङले समाज टाइम्स सँगको कुराकानीमा भने।
यस्तै पूर्व फुटबल खेलाडी अमल थुलुङले कालु सिंह पूर्ण व्यवसायीक र स्तरीय खेलाडी भएको र भुटानी नेपाली भाषी फुटबल खेलाडीका लागि प्रेरणाको स्रोत भएको बताए।
प्रतियोगिताको थप तस्वीर र खेलको लाइभ हेर्न समाज टाइम्सको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नु होला