संयुक्त राष्ट्रसंघ नेपाली नियोग न्युयोर्कमा थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्क (अमेरिका) का लागि नेपाली राजदूत पदमा नियुक्त गरेका छन् । सरकारले सिफारिस गरेर संसदीय सुनुवाई पूरा गरि अनुमोदन भएपछि राष्ट्रपति पौडेलले थापालाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातन्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरे ।
राष्ट्रपतिले सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
