प्रतिनिधिसभा बस्दै, विवादित विधेयक पेश नहुने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको हो ।
बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) अनुसार सदन समक्ष पेस गर्ने कार्यसूची छ । राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने पनि कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
सरकारले फौजदारी कसुरमा समेत सजाय मिनाहा गर्ने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने तयारी गरेको थियो । तर, प्रमुख प्रतिपक्षी एमालेले मात्र होइन सत्तारुढ राजनीतिक दलबाटसमेत विरोध भएपछि बुधबारको कार्यसूचीमा उक्त विषय परेको छैन । उक्त विधेयक माथि छलफलका लागि सरकारले असार ३१ गते नै प्रतिनिधिसभामा पेस गर्न अनुमति माग्ने प्रस्ताव थियो ।तर, विपक्षी दलहरुको विरोधका कारण रोकिएको थियो ।
सभामुख घिमिरेले नै बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई नराख्न भने, सचिवालय स्रोतको दाबी छ । विधेयकको दफा ६४ मा रहेको फौजदारी मुद्दा फिर्ता लिने प्रावधान राखेको छ । ७९ वटा कानुन संशोधन गर्नेगरी ल्याइएको विधेयकको दफा ६४ मा कुनै राजनीतिक दल वा समूहले हिंसात्मक काम गरेर पछि शान्ति प्रक्रियामा आएमा उसले गरेका अपराधलाई फिर्ता गर्ने व्यवस्था राखिएको छ ।














