फार्मेसी सञ्चालकले चरम लापरवाही गरेको देखियो

काठमाडौं । उपत्यका लगायतका विभिन्न जिल्लामा सञ्चालनमा रहेका फार्मेसीहरुमा औषधि विक्री वितरणमा लापरवाही भएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको संयुक्त टोलीले ७७ वटै जिल्लामा आजबाट स्थलगत निरीक्षण र अनुगमन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतसंँगै २० ओटा टोलीले सोमबार उपत्यकाको तीनै जिल्लामा सञ्चालनमा रहेका विभिन्न फार्मेसीको स्थलगत अनुगमन गरे ।
स्थलगत अनुगमनको क्रममा फार्मेसी सञ्चालकले औषधिको विक्री वितरणमा चरम लापरवाही गर्दै आएको जनगुनासोलाई पुष्टि गरेको छ ।
अनुगमनको क्रममा फार्मेसी दर्ता नै नगरि सञ्चालन गरेको, दर्ता नभएको औषधि खुल्लम खुल्ला विक्री वितरण गरिँदै आएको,चिकित्सको प्रेस्कृप्सन बिना बेच्नै नपाइने औषधि बेचेकोदेखि म्याद गुज्रिसकेको औषधिको विक्री वितरण गर्ने सम्मको लापरवाही गरेको पाइएको छ । मन्त्री बस्नेतले अनुगमनको क्रममा भेटिएका लापरवाहीकर्ता कानून अनुसार कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले भने,‘अनुगमनको क्रममा धेरै लापरवाही भएको पाइएको छ । एक त म्याद गुज्रिएको औषधि बेच्दा विलमा लेख्दा स्पस्ट नलेख्ने गरेको पाइयो, विलमा लेख्दा सानो अक्षर नबुझ्ने खालको लेख्ने गरेको पाइयो ।त्यसमाथि दर्ता नै नभएको औषधि पनि विक्री भैरहेको पाइयो ।’
मन्त्री बस्नेतले आज दिनभरीको उपत्यका र जिल्लामा भएका टोलीको अनुगमनको निष्कर्षबाट मापद्दण्ड विपरीतका औषधि विक्री वितरण गर्दै आएका फार्मेसी सञ्चालकलाई आवश्यक सचेत गराउने देखि कसुर हेरेर कारवाहीको प्रकृयामा जाने बताएका छन् ।
दुई ओटा फामेर्सीको अनुगमन गरेपछि मन्त्री बस्नेतले भने, ‘काठमाडौैं, ललितपुर र भक्तपुरमा २० ओटा टोलीले स्थलगत अनुगमन गरिरहेको छ । मैले दुई ठाउँमा हेरेर तेस्रो ठाउँको अनुगमनमा आइपुग्दा म्याद गुज्रिएको औषधि बेच्न राखेको,विल बनाउँदा स्पस्ट नलेख्ने गरेको,कतिपय बेच्नै नपाउने औषधि बेच्ने गरेको लगायतका त्रुटि भेटिएको छ ।
आज दिनभरिको उपत्यकामा गरेको अनुगमनको रिपोर्टको आधारमा औषधि व्यवस्था विभाग सहितको टिमले यसलाई हेरेर कानूनी प्रकृयामा जानुपर्ने, सचेत गराउनुपर्ने कुरामा उपत्यकाको सन्दर्भमा निरीक्षण सकिएपछि आजै हेरिन्छ । उपत्यका बाहिरको सन्दर्भमा रिपोर्ट, आएअनुसार जिल्ला जिल्लालाई कारवाहीको प्रकृया अगाडि बढाउने,सचेत गराउने कार्य सुरु हुन्छ ।’
७७ ओटै जिल्लामा सञ्चालनमा रहेका विभिन्न फार्मेसीहरुमा सोमबारबाट मन्त्रालय र औषधि व्यवस्था विभागले संयुक्त रुपमा अनुगमन र निरिक्षण सुरु गरेको हो । जनस्वास्थ्यमाथि भैरहेको ज्यादति र लापर्वाहीलाई नियन्त्रण गर्न मन्त्री बस्नेतले यो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता पनि गरेका छन् ।